एमालेलाई संसदमा प्रवेश गर्ने वातावरण बनाऊ : महासचिव पोखरेल

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज साँझ नेपाली काँग्रेसका नेता र एमालेका नेताहरुबीच भएको भेटवार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।  एमालेले संसदमा जारी राखेको अवरोध हटाउने र संसदमा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सबैको सहमतिमा पारित गर्नेबारेमा नेताहरुबीच भएको छलफल निष्कर्षमा पुग्न नसके पछि कांग्रेस नेताहरू बालकोटबाट बाहिरिनुभएको छ ।

बालकोटस्थित ओली निवासबाट बाहिरिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको छलफलबाट नयाँ सन्देश दिन खोजे पनि नसकेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिनु भयो । “आजको छलफलबाट तपाईँहरूलाई नयाँ सन्देश दिन खोजेका थियौ तर सकेनौ, यद्यपि हाम्रो छलफल भने जारी रहन्छ”, उहाँले भन्नुभयो, “गठबन्धन अहिले पनि जारी नै रहेको छ, आशा गरौँ संसद् सुचारु भएर सहमतिबाटै एमसीसी अगाडि बढ्छ ।”

छलफलपछि एमाले महासचिव शंकर पोखरलेलले गठबन्धनको राय अझै स्पष्ट नआउँदा एमालेले आफ्नो निर्णय दिन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, “आजको छलफलमा पनि हामीले गठबन्धनको एउटै राय लिएर आउनुस् भनेका छौँ, उहाँहरूले गठबन्धनकै एउटै राय बनाउन सक्नु भएको छैन, उहाँहरूले गठबन्धनमा पनि छलफल जारी राख्ने, एमालेसँग पनि छलफल जारी राख्ने तर  गठबन्धनको राय क्लियर नगर्ने अनि गठबन्धनको राय क्लियर नभएसम्म एमालेले निर्णय कसरी गर्ने रु”

पहिला त एमालेलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउन पर्‍यो नि भन्दै उहाँले एमालेको माग सम्बोधन भए एमालेले निर्णय लिन सक्ने बताउनु भयो । उहाँले सरकारले प्रतिपक्षलाई यसो गर, उसो गर भन्न मिल्दैन भन्नुभयो । आजको छलफलमा काँग्रेसको तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की, कांग्रेस उपसभापति पूर्णवहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालबीच वार्ता भएको थियो ।

दुई पक्षबीच वार्ता सहमति हुने अवस्था सृजना भएको भए बालकोटमै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुने कार्यक्रम तय भएकोमा दुई पक्षका नेताहरुबीचको वार्ता नै निष्कर्षमा नपुगे पछि उहाँहरुबीच आज भेटवार्ता नहुने भएको बताइएको छ ।

यसअघि प्रम देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट जाने बताइएको थियो। नेताहरूको छलफलमा सहमति नजुटेकाले देउवा बालकोट नजाने निष्कर्षमा पुगेको बुझिएको छ। यसअघि पनि एमसिसीबारे एमालेसँग पटक पटक छलफल भइसके पनि निष्कर्ष अझै निस्केको छैन।

बालकोटमा शुक्रबार पनि राती अबेरसम्म प्रधानमन्त्री देउवासहित काँग्रेसका नेताहरू र एमालेको तर्फबाट अध्यक्ष ओलीसहित एमालेका नेताहरुबीच छलफल हुँदा पनि वार्ता निस्कर्षमा पुगेको थिएन । बैठकमा कांग्रेस र एमालेका नेताहरूले आफ्नै अडान कायम राखेपछि बिना निष्कर्ष टुंगिएको हो । आफ्नो सिफारिसअनुसार १४ जना सांसदलाई कारबाही नगरी प्रतिनिधिसभा बैठकमा भाग लिन दिएको भन्दै एमालेले ६ महिनादेखि संसद् अवरुद्ध गर्दै आएको छ ।