सरकारले जनताको मन छुने काम गरेको छ : मुख्यमन्त्री पोखरेल

0
Shares

दमौली ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले छोटो अवधिमै जनताको मन छुने कामको सुरुआत गरेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आफू नेतृत्वको सरकार गठन भएको आठ महिनामा जनताको मन छुने काम गरेको दावी गर्नुभएको हो ।

सरकारले फागुन १ गतेदेखि प्रदेशभर रगत निःशुल्क उपलब्ध गराउने निर्णय गरेको र उक्त निर्णयले जनतालाई राहत हुने उहाँले उल्लेख गर्नुभयो । “सरकार गठन भएको धेरै समय नभए पनि केही कामको सुरुआत गरेका छौँ, जसले जनतालाई राहत पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “अब प्रदेशका जनताले रगत निःशुल्क पाउँछन्, त्यसको शुल्क सरकारले व्यहोर्छ ।”

प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा सडकमा बेवारिसे अवस्थामा जनता भौतारिन नपरोस् भन्नका लागि मानव सेवा आश्रमसँग सम्झौता गरी त्यस्ता व्यक्तिको व्यवस्थापन गरिएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । सरकारले पोखरामा दुई र लमजुङमा एउटा मानव आश्रमसँग सम्झौता गरी प्रतिव्यक्ति तीन हजार दिने गरी सडकमा बेवारिसे अवस्थामा रहने व्यक्तिको व्यवस्थापनका लागि बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

कोभिडबाट मृत्यु भएकाका परिवारलाई रु ५० हजार राहत दिने र अभिभावक गुमाएका बालबालिकालाई १८ वर्ष उमेर नपुगेसम्म मासिक रु पाँच हजार राहत दिने कामको सुरुआत भएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेशभित्रका अस्पतालमा निःशुल्करूपमा डायलासिस गर्ने क्षमता वृद्धि गर्ने सरकारको सोच रहेको बताउनुभयो । प्रदेशभित्र हाल ५५० जना डायलासिस गर्नुपर्ने बिरामी रहे पनि १७५ ले मात्रै निःशुल्क सेवा पाइरहेकाले सुविधा विस्तार गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

अहिलेको शिक्षा व्यवहारिक नभएकामा सबैको चासो रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले व्यवहारिक शिक्षाको आवश्यकतामाथि जोड दिनुभयो । सरकारले शिक्षा नीति ल्याएको र सोही नीतिमा रहेको ऐन बनाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो । कार्यक्रममा प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले शिक्षाको सुधारमा जोड दिनुभएको थियो ।