एमसिसी नेपालको हितमा छ : वरिष्ठ नेता पौडेल

0
Shares

तनहुँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी पास राष्ट्रघाती हुन नसक्ने बताउनुभएको छ । शालिक तथा पार्क निर्माण समितिको आयोजना तथा नेकां सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

एमसिसी सम्झौतामा हस्ताक्षर गरेर कम्युनिष्ट घटक अहिले आएर पन्छिने गरेको उहाँले आरोप लगाउनुभयो । गरिबीपनले हिंसा र आतङ्कजस्ता गतिविधि हुँदै गएको उल्लेख गर्दै नेता पौडेलले नेपालमा विद्युतीय क्षमता बढाएर आर्थिक पक्षमा सबल भई गरिबी हटाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि स्व परियारले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै उहाँले पार्टीले सहिदका रूपमा सम्मान गरेको बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले कांग्रेसले सहिदको सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि लाग्नुपर्ने बताउनुभयो । कलाकारिता क्षेत्रमा नक्षेत्रका रूपमा उदाएका स्व परियारको बाँकी सपना पूरा गर्न र सहिद पार्क निर्माण गर्न पार्टीले पहलकदमी थाल्नुपर्नेमा जोड दिनुभएको थियो । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिष्ट घटकहरूले एमसिसी माग गरेर मुहर्त रूप दिने अवस्थामा भागेको आरोप लगाउनुभयो । अमेरिकाले सित्तैमा दिएको अनुदानमा बार्गेनिङ गर्नुका साथै चुनावको मुद्दा बनाएर आर्थिक सङ्कटमा धकेल्ने षड्यन्त्र भएको बताउनुभयो ।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले स्व सहिद परियारको परिवार र नेकांबीच पारिवारिक साथ कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । व्यासनगरपालिकाको रु ११ लाख एक हजार २५० को लागतमा स्व परियारको अर्धकदको शालिक निर्माण गरिएको हो ।
–––