शंखुका ४ सय १० घरमा एक घर एक धारा, पक्की सडक उद्घाटन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिका वडा नम्बर १२ मा एक घर एक धारा अभियान अन्तर्गत ४ सय १० घर धुरीमा खानेपानी वितरण गरिएको छ । बाँकी घरहरूमा चालु आर्थिक वर्ष भित्र सम्पन्न हुने गरी योजना कार्यान्वयन भइरहेको छ । एक घर एक धारा शंधु एकीकृत खानेपानी तथा इँटे पाटी चौर सडक उद्घाटन नगर प्रमुख अशोक ब्याञ्जुले एकै साथ गर्नु भएको छ ।

इँटे पाटी चौर क्षेत्रमा १ हजार ३ सय मिटर सडक २ करोड लागतमा कालोपत्रे गरिएको छ । धुलिखेल नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भए पछि ४६ किमी सडक कालोपत्रे गरिसकेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेल नगरपालिकाले खानेपानीको लागि आर्थिक वर्ष २०७५/२०७६ मा ४८ लाख ५० हजार, आर्थिक वर्ष २०७६/२०७७ मा ४० लाख र आर्थिक वर्ष २०७७/२०७८ मा १५ लाख ४० हजार रकम विनियोजन गरेको थियो ।

नगरपालिकाले विनियोजन गरेको बजेटमा जनश्रमदान २० लाख ७८ हजार गरी १ करोड २४ लाख ६८ हजार रुपैयाँमा खानेपानी आयोजना सम्पन्न भएको वडा अध्यक्ष हर्कबहादुर तामाङले बताउनु भयो । इँटे, सापकोटा गाउँ, अँधेरी थापा गाउँ, रयाले र पाटी चौरका सबै घरमा धारा पुगिसकेको छ भने एक्ले खेत लगायतका क्षेत्रमा कार्य भइरहेको छ ।

उपभोक्ता समिति मार्फत निर्माण भएको उक्त आयोजना अन्तर्गत ७५ हजार र ३५ हजार लिटर क्षमताको पानी ट्याङ्गकी देविस्थानमा निर्माण गरिएको छ भने पाटी चौर दारिम थुम्कामा ३५ हजार लिटर क्षमताको, नयाँ पाटीमा डिपबोरिङ्ग ट्याङ्की ३५ हजार लिटर क्षमताको पानी ट्याङ्गकी निर्माण गरिएको छ ।

गार्ड हाउस लगायतका अन्य संरचना र पाईपम लाइन तथा अन्य संरचना निर्माण कार्य सम्पन्न भई एक घर एक धारा कार्यक्रम सोही क्षेत्रमा सम्पन्न गरिएको उपभोक्ता समितिका सचिव सुनिता लामाले बताउनु भयो । अभियानको उद्घाटन पछि नगर प्रमुख अशोक ब्याञ्जुले नगरपालिका भित्र पाँच वर्षमा ८४ प्रतिशत घरमा खानेपानी पु-याईएको बताउनु भयो ।

चालु वर्ष भित्र ९४ प्रतिशत घरमा खानेपानी पुग्ने र अर्को वर्ष शतप्रतिशत घरमा खानेपानी उपलब्ध गराउँदै देशकै नमुना र शतप्रतिशत खानेपानी उपलब्ध हुने सहरका रूपमा धुलिखेललाई चिनाउने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । स्वस्थ सहर, बालमैत्री नगर, साक्षर नगर, पूर्ण खोप नगर, गरिवी मुक्त भएको नगर, सुकुम्वासी मुक्त नगर, खरको छानो मुक्त भएको नगर, पूर्ण रूपमा कार्बन उत्सर्जन न्यूनीकरण भएको सहर लगायतका कार्यहरूमा नगरपालिकाले सफलता प्राप्त गर्दै आएको उहाँले बताउनु भयो ।

कार्यक्रममा उपभोक्ता समितिमा रहेर काम गर्ने अध्यक्षहरू कमल तामाङ, रामप्रसाद सापकोटा र राकेश तामाङलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष हर्कबहादुर तामाङले वडामा नगरपालिका मार्फत थुप्रै योजनाहरू सम्पन्न गरी शिक्षा, स्वास्थ्य, सडक, पुल तथा अन्य संरचनाहरू निर्माण भएको बताउनु भयो ।

शंखुका खोलामा दुई वटा पक्की पुल, पनौती नमोबुद्ध सडक कालोपत्रे, भालखर्क जोड्ने सडक निर्माण तथा नागरिकहरूका लागि ल्याब सहितको स्वास्थ्य केन्द्र स्थापनाले शंखुको समृद्धता तर्फ नगरपालिका केन्द्रित भएको अध्यक्ष हर्क तामाङले बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष वसन्तबहादुर रानाभाट, इन्जिनियर हरेराम हुमागाईँ, वडा सदस्य मोहन लामिछाने, वडा सचिव राजबहादुर धराला लगायतले वडा मार्फत भएका गतिविधिहरूका बारेमा जानकारी गराउनु भएको थियो । वर्षौ पुरानो इटे पाटी पुर्ननिर्माणले इटेको शान र संस्कृतिलाई बचाउन महत्त्वपूर्ण भूमिका खेलेको स्थानीयहरूले बताएका छन् । नगरपालिकाले उक्त पाटीका लागि हरेक वर्ष बजेट विनियोजन गरिरहेको छ ।