युक्रेनको राजधानी प्रवेश गर्‍यो रुसी सेना, भीषण युद्ध जारी

0
Shares

न्युज अफ नोपल, काठमाडौं ।

युक्रेनको राजधानी शहर किभमा शनिबार बिहानैदेखि  युद्ध सुरु भएको छ ।

रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेको आज तेस्रो दिन हो । शनिबार युक्रेनको सबै मुख्य शहरहरुमा विस्फोट भएका छन् । यसबीच युक्रेनले ३ सय रुसी सेना बोकेको दुईवटा विमानलाई खसाएको दाबी गरेको छ । यता, रुसी सैनिकले किभको विमानस्थलमा कब्जा गरिसकेको बताइएको छ ।

युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त शुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । ‘हाम्रो शहरको सडकमा भिडन्त भइरहेको छ,’ समाचार एजेन्सीले जनाएको छ । समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरण्डामा ननिस्कन चेतावनी दिएको छ । यसैबीच किभबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको भासिल्किभ शहरका मेयरले अहिले शहरको मध्यभागमा भीषण युद्ध भइरहेको बताएकी छन् ।

युक्रेनको संसदको च्यानलसँगको कुराकानीमा मेयर नातालिया बालासिनोभिकले भनिन्, ‘शहर पूरै युद्धमय बनेको छ ।’ उनले युद्धको क्रममा दुवैतर्फ ठूलो क्षति भएको उल्लेख गरेकी छिन् । उनले युक्रेनको सेनाका दुई सयभन्दा धेरै सैनिक घाइते भएको उल्लेख गरेकी छिन् ।