सुनचाँदीका गहनासहित भारतीय पक्राउ


न्युज अफ नेपाल,  हेटौंडा ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटाैडा–१५, रातोमाटेस्थित चेकपोष्टमा अवैध सुनका गहनासहित एक भारतीयलाई पक्राउ गरेको छ ।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–०२० प ८२४५ नम्बर मोटरसाइकल चेक गर्ने क्रममा भारतको बिहार सीतामडी थाना परिहार पोष्ट अन्धौली–३, बिसनपुर बस्ने वर्ष २२ का सोलार साह भनिने राजा साहलाई पक्राउ गरिएको हो ।
उनले भन्सार छलेर ल्याएको सुन र चाँदीका तिलहरी, झुम्का, फुली, बाला, पाउजु, सिक्री, ब्रासलेट, औंठी , गणेश र लक्ष्मीको मूर्ति, पाउजुलगायत करिब २ लाख ५ हजार २ सय ६० रुपियाँ मूल्य बराबरको सुन २४ ग्रा ६२ मिग्रा, करिब २ लाख ३५ हजार ६ सय २ रुपियाँ मूल्य बराबरको चाँदी २ किलो १८ ग्राम गरी ४ लाख ४० हजार ८ सय ६२ रुपियाँ मूल्य बराबरका गरगहना फेला परेपछि गहनासहित साहलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको प्रहरीले जनाएको छ ।