युक्रेनमा १९३ नेपाली दूतावासको सम्पर्कमा


एजेन्सी ।

युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको र सम्पर्क भइरहेको जर्मनीमा रहेको नेपाली दूतावासले जनाएको छ । बर्लिनस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म १९३ नेपाली सम्पर्कमा आएका छन् ।

युक्रेनमा दुई सय बढी नेपाली रहेको दूतावासको अनुमान छ । रुसले पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ । युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपाली स्थलमार्गबाट सुरक्षित ठाउँतर्फ गइरहेका छन् ।

युक्रेनसँग सीमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने पनि दूतावासले जनाएको छ । सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी र फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ ।

दूतावासले युक्रेन सरकार र सम्बन्धित कलेजरविश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ । युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ ।