महायज्ञमा दिइएको दान विद्यालयले पाएन



जाजरकोट ।

भेरी नगरपालिका–१३ भगवती माध्यमिक विद्यालय कुदुले लगाएको महायज्ञमा दिइएको दान विद्यालयले पाउन सकेको छैन । महायज्ञको यज्ञशालामा नाँच्दै–गाउँदै दाताहरूले स्वस्फूर्त दान दिने घोषणा गरेका थिए ।

विद्यालयको भौतिक र शैक्षिक सुधार गर्न २०७३ सालमा भगवती माध्यमिक विद्यालयले लगाएको सप्ताह ज्ञान महायज्ञको मञ्चमा गएर चन्दा बोल्ने र नाँच्नेको भीड राजनैतिक पार्टीका नेता–कार्यकर्ताको बढी थियो । देश संघीय संरचना गएपछिको पहिलो निर्वाचन २०७४ सालमा चुनाव हुने भएपछि चुनावलाई लक्षित गर्दै नेकपा एमाले, नेकपा माओवादीलगायतका राजनैतिक दलका नेता–कार्यकर्ताले भोट पाउनका लागि १० देखि १५ लाख रकम दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

करिव १० रोपनीभन्दा बढी जग्गा दिने प्रतिबद्धता गरेका जग्गा दाताले पनि ६ वर्ष बितिसक्दा विद्यालयलाई जग्गा दिएका छैनन् । समाजसेवी ध्रुवप्रसाद शर्मा, जनकप्रसाद शर्मा, रामप्रसाद आचार्य, अम्बिकाप्रसाद आचार्य विद्यालयका प्रधानाध्यापक प्रताप रोकायको पहलमा विद्यालयको शैक्षिक तथा भौतिक सुधार गरी नमुना विद्यालय बनाउन महायज्ञ भएको थियो । करिव ६ लाख पण्डितलाई दिएर वचत भएको बजेट बैंक खातामा जम्मा गरेको प्रधानाध्यापक प्रताप रोकाय बताउनुहुन्छ ।

महायज्ञमा विद्यालयको सुधार होस् भन्ने उद्देश्यले लक्ष्मी रावत र विष्णु खत्रीले १–१ दिनुभएको थियो । विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र वडा सरकारले बालबालिकाको भविष्य निर्धारण गर्ने पवित्र संस्थालाई ठूलो धनराशी दान दिन्छु भन्ने दातालाई के–कति कारणले दिन सक्नुभएन भनी छलफल नगर्दा विद्यालयले जग्गा पाउन नसकेको भेरी नगरपालिका–१३ की दानकर्ता लक्ष्मी रावतको भनाइ छ ।

महायज्ञको मञ्चमा नेता–कार्यकर्तालाई ल्याएर बोल्न लगाएपछि भोट बढ्छ भन्दै स्थानीय कार्यकर्ता एकपछि अर्को नेता ल्याउने क्रम चलेको थियो । बिडम्वना जग्गा दिएका जग्गा दाता र नेताले दिने भनेको बजेट नदिँदा विद्यालय जीर्ण बन्दै गएको छ । विद्यालयलाई राजनैतिक थलोका रूपमा लिँदा राजनैतिक खिचातानीका कारण विद्यालय बन्न नसकेको स्थानीयको भनाइ छ ।

विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र स्थानीय सरकारले दाताहरुसँग समन्वय सहकार्य नगर्दा विद्यालयको नाममा जग्गा आउन नसकेको दीपेन्द्र गिरी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्