हत्या गरी फरार भएका गिरी १६ वर्षपछि पक्राउ



बाजुरा ।

प्रभु गिरी भनिने नवराज गिरीको बीभत्स हत्या गरी भरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । बाजुराको त्रिबेणी नगरपालिका कालापानी निवासी अभियुक्त भरत गिरीलाई नेपाल प्रहरीले भारतबाट पक्राउ गरी विहीबार सार्वजनिक गरेको हो ।

गिरीको हत्याका प्रमुख योजनाकार भरतलाई भारतको उत्तराखण्ड स्थित अल्मोडा जिल्लाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक चतुुर्भुज ओझाले पत्रकार सम्मेलनमा बताउनुभयो । फरार अभियुक्त गिरीले आफ्नो नेपाली परिचयपत्र नखुल्ने गरी २०६३ सालदेखि भारतका विभिन्न शहरमा बस्दै आएको खुलेको छ । नेपाल प्रहरीको अथक प्रयास, इन्टरपोल र भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

‘हामीले सपुर्दगी सन्धिका विभिन्न कानुनी प्रक्रिया आपनाएर मंगलबार मात्र गरीलाई भारतबाट पक्राउ गर्न सफल भयौं’, ओझा भन्नुहुन्छ– ‘भारतको टनकपुर हुँदै कञ्चनपुर जिल्लाबाट मंगलबार जिल्ला प्रहरी कार्यालयमा पुर्याई जिल्ला अदालतमा पेस गरिसकेका छौं ।’ अपराधी गिरीलाई सर्वश्वहरणसहित आजीवन कारावास गर्न सर्वाेच्च अदालतको फैसला गरेकाले बुधबार नै उनलाई कारागार चलान गर्ने प्रहरी नायव उपरीक्षक ओझाले जानकारी दिनुभयो ।

अभियुक्त गिरीले सहोदर काकाकी छोरी बहिनीसँग अनैतिक सम्बन्ध राखेको अवस्थामा नवराज भन्ने प्रभु गिरीले रंगेहात भेटेपश्चात् नवराजलाई मार्ने योजना बनाएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । साविकको कैलाशमाण्डौ गाविस–६ हाल त्रिबेणी नगरपालिका–७ निवासी भरत गिरी लगायत ९ जनाले २०६३ माघ ४ गते साँझ भाला, खुँडा, ढुंगा र धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

‘साँझ ७ बजेतिर देवरलाई पुकार खान तल पसलतिर जाउँ भनेर लगे’, मृतक गिरीकी भाउजू तारा गिरी भन्नुहुन्छ– ‘पछाडिबाट ढुंगामुडा, हँसिया, साइकलका चेन, भाला प्रयोग गरी लखेटी–लखेटी हत्या गरेका थिए । हामीले न्याय पाउने आस मारिसकेका थियौं । तर, प्रहरीले हत्यारा प्रक्राउ गर्न सफल भएकोमा खुसी भएका छौं ।’

देवरको हत्यापश्चात् आफूहरूलाई पनि मार्ने धम्की आएको उहाँको कथन छ । अहिले पनि गाउँ शान्त छैन, छोराको वियोगमा सासूको पनि ४५ वर्षको उमेरमा २०६५ सालमा निधन भएको थियो । ‘२५ जनाको संलग्नता रहेछ’, तारा भन्नुहुन्छ– ‘त्यति बेला हामीले ९ जनाको मात्र किटानीजाहेरी गरेका थियौं, अपराधीको मुख्य नाइके भने अहिले फेला प¥यो ।’ नौ जनाले कैद सजाय भोगेर थुनुवा मुक्त भइसकेका छन् ।

जिल्ला अदालत बाजुराले २०६८ माघ ४ गते भरत गिरीलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेको थियो । त्यस्तै, पुनराबेदन अदालत दिपायलले पनि सोही फैसला सदर गरेको थियो । सर्वोच्च अदालतले भने २०७० भदौ २१ गते जन्मकैदको फैसला ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्