काठमाडौं–इलाम व्यावसायिक हवाई उडान शुरू



इलाम ।

काठमाडौं–इलाम व्यावसायिक हवाई उडान बुधबारबाट शुरू भएको छ । इलाम नगरपालिका ९ मा रहेको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट हवाई सेवा शुरू भएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट हवाई उडानको अनुमति तारा एयरलाइन्सले लिएसँगै काठमाडौं–इलाम हवाई उडान–अवतरण चालु भएको हो । तारा एयरको जहाज काठमाडौंबाट १० बजे उडान भरेर फाल्गुनन्द सुकिलुम्बा विमानस्थल इलाममा बिहान ११ बजे अवतरण भएको थियो ।

काठमाडौंबाट प्राविधिक र चारजना यात्रुसहित ११ जना इलाम आएका थिए । तत्कालको अवस्थामा साताको एकदिन बिहीबार वा आइतबार हवाई उडान गर्ने तारा र यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले बताउनुभयो । तारा एयरलाइन्ससँग धेरै दायित्व बहन गरेर इलाम नगरपालिकाले १२ उडानका लागि सम्झौता गरेको छ । १९ सिटे क्षमताको तारा एयरसँग इलाम नगरपालिकाले काठमाडौं–इलाम जहाज सञ्चालन गर्न ११ जनाभन्दा कम यात्रु भएको खण्डमा बाँकी यात्रुको भाडा नगरपालिकाले व्यहोर्ने गरी सम्झौता गरेको छ । जहाज सञ्चालनका लागि इलाम नगरपालिकाले १० लाख रुपियाँ बजेट विनियोजित गरेको छ । इलाम– काठमाडौं एकतर्फी उडानका लागि ८ हजार ७ सय रुपियाँदेखि ९ हजार रुपियाँ भाडा तोकिएकोे छ । ‘विमानस्थल सञ्चालनका लागि अझै पनि प्राविधिक कुराहरू अपुग छ’, सीईओ रिमालले भन्नुभयो–‘तत्कालको अवस्थामा कम्पाउन्ड घेराबारा, टावर निर्माणको काम गर्नुपर्छ, यस्तै रनवे लेन्थ पनि कम छ । जसले गर्दा जोखिम भने उच्च नै छ ।’

‘रिफ्युलिङ्गको पनि समस्या छ । जिल्लामै रिफ्युलिङ्ग गर्न पाएको खण्डमा ११ जनाभन्दा बढी यात्रु बोक्न सकिन्छ, ११ जनाभन्दा कम यात्रु भएको खण्डमा एयरलाइन्स घाटामा जाने भएकाले नगरपालिकाले सम्झौताअनुसार यात्रुको भाडा तिर्नेछ । ११ जना यात्रु हुँदा नाफा घाटा केही पनि हुँदैन’ रिमालको भनाइ छ । पहिलो पटक २०६८ सालबाट निर्माण शुरू भएको विमानस्थलबाट १० वर्षपछि व्यावसायिक उडान शुरू भएको हो । विमानस्थलमा तारा एयरको १९ सिटे विमानले २०७५ साल जेठ २१ गते परीक्षण उडान गरेको थियो ।

यस्तै नेपाल एयरलाइन्सको ट्विनअटर विमानले गत माघ २६ गते परीक्षण उडान गरेको थियो । ३ सय २८ रोपनीमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया शुरु भएपनि २०६७ चैत १३ मा शिलान्यास गरिएको थियो । तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो । जिल्लाबासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रूपियाँसम्म चन्दा संकलन गरिएको थियो । ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रूपियाँ खर्च भएको थियो ।

यता, फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट काठमाडौं– इलाम हवाई उडान शुरू हुनु इलामको पर्यटन प्रवद्र्धनमा थप टेवा पुगेको सरोकारवालाले बताएका छन् । यसलाई नियमित कसरी बनाउन सकिन्छ भन्ने कुरा चुनौती बढेको बताएका छन् । हवाई सेवा सञ्चालन हुनुले देशको राजधानी र चियाको राजधानी इलामलाई जोड्ने काम भएको पनि सरोकारवालाको भनाइ छ । इलाम नगरपालिकाका मेयर महेश बस्नेतले विमानस्थलमा निर्माणको काम धेरै भए पनि ती कामहरूलाई बिस्तारै निर्माण गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले इलामको पर्यटन क्षेत्रमा टेवा पुर्याउन अनि इलामे जनताको मागलाई सम्बोधन गर्नेगरी नगरपालिकाको पहलमा तारा एयरसँग १२ उडानका लागि आर्थिकलगायतका धेरै दायित्व बहन गरेर काठमाडौं–इलाम हवाई उडान सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्