पत्रकार पाण्डे पक्राउप्रति महासंघको ध्यानाकर्षण



काठमाडौं, (नेस) ।

वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका पत्रकार उमाकान्त पाण्डेलाई युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।

महासंघ यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाइका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएईस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराउँदछ ।’

महासंघका अनुसार पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ (पुस २३) गते ‘सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको’ आशयमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको छ ।

संघले पाण्डेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाली दूतावासकै उजुरीमा युएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्