भुम्लुका १७ विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण


मोतीराम तिमल्सिना, काभ्रे । 

भुम्लु गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालयमा कार्यरत सहायक कर्मचारीहरूका लागि स्विटर, ज्याकेट र पाउडर क्रिम निःशुल्क उपलब्ध गराइएको छ । हजुरलाई नमस्ते परोपकारी संस्था मार्फत १७ विद्यालयका १ हजार ७ जनालाई उक्त सामाग्री उपलब्ध गराइएको हो ।

जनता मावि कोलाँती भुम्लु, अरुणोदय मावि सिम्थली र सेतीदेवी आधारभूत विद्यालय कामिडाँडाका विद्यार्थीहरूलाई बुधवार एक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । यस अघि पहिलो चरणमा १४ विद्यालयका विद्यार्थीहरूलाई सामाग्री वितरण गरिएको थियो । अभियान लिएर भुम्लु पुग्नु भएका स्थानीय तथा समाजसेवी हजुरलाई नमस्ते परोपकारी संस्थाका संयोजक ताराबहादुर कुँवरले भुम्लुका विद्यालयमा स्विटर, ज्याकेट वितरण गरिएको बताउनु भयो । वितरण गरिएका सामाग्रीको मूल्य १५ लाख बराबरको रहेको कुँवरले बताउनु भयो ।

‘स्वास्थ्य शिविर, सडक निर्माण तथा सामाजिक अभियानमा स्थानीय सरकारसँग हातेमालो गर्दै यो पटक विद्यालयमा न्यानो कपडा उपलब्ध गराएको हुँ’–संयोजक कुँवरले भन्नुभयो–‘संस्थाको तर्फबाट व्यक्तिगत खर्चमा भुम्लु गाउँपालिकाका १७ वटा विद्यालयका १ हजार ७ सय जनालाई स्विटर र ज्याकेट उपलब्ध गराएको छु ।’ पहिलो चरणमा भुम्लुका सेतीदेवी मावि रिट्ठे, सेतीदेवी मावि चौबास, सेतीदेवी मावि काभ्रे, सेतीदेवी आधारभूत विद्यालय सापिङ्ग, जनजागृति प्रावि उर्लेनी, कालिदेवी प्रावि ठाढकोड्का, श्रीदेवी प्रावि कात्तिके, गणेश प्रावि मेलडाँडा, गोल्मादेवी प्रावि भारतिगाउँ, सेतीदेवी प्रावि अर्खौले, दुधुगाउँ प्रावि चौबास, महादेव प्रावि पोखरी चौबास, नवजागृति प्रावि कोढ्का, बालउन्नती प्रावि सिम्थली रहेका थिए ।

अभियानमा गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले स्थानीय सरकारसँगको सहकार्य र समन्वयमा विद्यालयमा उपलब्ध गराएका सामाग्रीहरुले विद्यार्थीहरूको शैक्षिक अवस्थालाई सहज पुग्ने बताउनु भयो । गाउँपालिकाले कक्षा ३ सम्म अध्ययन गर्ने ४३ वटा विद्यालयका विद्यार्थीहरूलाई कापी कलम निःशुल्क उपलब्ध गराउँदै आएको छ भने छात्रवृत्ति, शिक्षक दरबन्दी मिलान गरी शिक्षक व्यवस्थापन, विद्यालयमा दिवा खाजा, विद्यालयमा नर्स तथा कम्प्युटर ल्याब समेत उपलब्ध गराएको अध्यक्ष कुँवरले बताउनु भयो । बालबालिकाहरूको शिक्षाको गुणस्तर कायम गर्न अपुग दर वन्दीलाई गाउँपालिकाले व्यवस्थापन गरी नियमित पठनपाठनमा सहज भएको अध्यक्ष कुँवरले बताउनु भयो ।

 जनता माविका अध्यक्ष चन्द्रकुमार लामाले विद्यालयको भौतिक पूर्वाधार सम्पन्न हुँदै गए पनि शिक्षक अभाव तथा अन्य समस्याका कारण बालबालिकाहरूको पठनपाठनमा असहज भएको बताउनु भयो । अधिकांश सीमान्तकृत र दलित समुदायका बालबालिकाहरू अध्ययन गर्ने उक्त विद्यालयमा खानेपानी तथा गरिबीका कारण बालबालिकाहरू नियमित विद्यालय आउन नसकेको प्रधानाध्यापक मोहनप्रसाद गुरागाईँले बताउनु भयो । सोही विद्यालयमा अध्ययन गर्ने ३ सय विद्यार्थीहरूलाई उक्त संस्था मार्फत समाजसेवी ताराबहादुर कुँवरले सामाग्री उपलब्ध गराउनु भएको थियो ।

अभियानमा रोटरी क्लबका कञ्चन शर्मा र निर्मला शर्मा कोइराला, अभियानका सदस्य शेरबहादुर कुँवर, फाल्गुण कुँवर, वडा नम्बर ६ का अध्यक्ष भरतबहादुर शिवभक्त, वडा अध्यक्ष कृष्णकुमार कार्की लगायतले विद्यालयको समस्या र स्थानीय सरकारले खेलेको भूमिकाका बारेमा बताउनु भएको थियो । त्यस्तै अरुणोदय मावि र सेतीदेवी आधारभूत विद्यालयमा प्रधानाध्यापक क्रमशः निर्मलाकुमार खड्का र प्रेमबहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू क्रमशः दिपेन्द्र भण्डारी र धु्रर्वकुमार भण्डारी लगायतको सहभागिता रहेको थियो । सोही संस्था मार्फत यस अघि भुम्लुका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सहित राहत वितरण गरिएको थियो ।