‘दोंचाख्यो’ गौशाला बन्द गर्न कोषको उर्दी



काठमाडौं ।

सडकमा छाडा छोडिएका गाई–बाच्छा तथा पशुपतिमा डामेर छोडिने साँढेको व्यवस्थापन गर्दै आइरहेको दोंचा ख्यो खाली गर्न पशुपति क्षेत्र विकास कोषले उर्दी जारी गरेको छ । कोषका सदस्य–सचिव डा. गोविन्द टण्डनको पालामा छाडा गाई–गोरु व्यवस्थापन गर्ने उद्देश्यले सो जग्गामा गाई–बाच्छा विकास समाजका प्रमुख आरबी न्यौपानेको अगुवाइमा कार्य हुँदै आइरहेको थियो ।

तर, एक्कासि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको भ्रमणलगत्तै कोषले सो गौशाला खाली गर्न परिपत्र पठाएपछि गाई व्यवस्था स्वयंसेवीहरु अचम्ममा परेको छन् । ‘पोहर पनि एक हप्ताको समय दिएर कोषले दोंचाख्यो (साँढे छोड्न छुट्टयाएको चउर) खाली गर्न उर्दी जारी गरिएको थियो तर यसको विरुद्ध हामी सर्वोच्च अदालत गएपछि अदालतले परम्परागत दोंचाख्यो स्थानान्तर नगर्नू/नगराउनू बरु कोषले व्यबस्थापन गर्नू भनिएपछि रोकिएको थियो’, कार्य समितिका सदस्य छायाँदेवी थपलिया भन्नुहुन्छ– ‘कोषले व्यवस्थापन नगरेपछि समाजले चन्दादाता गाईसेवकको पहलमा सेवा पुर्याउँदै आइरहेको छ ।’

काठमाडौं महानगरपालिका–८ पशुपति क्षेत्रको १२ रोपनी क्षेत्रमा गाईबाच्छा र साँढेलाई राख्दै आएको छ । व्यवस्थित गोठको अभावमा हिलो र वर्षात्को पानीका कारण त्यहाँ राखिएका १ सय ५३ वटा जनावर भिजेर हिलोमा बस्न बाध्य छन् । सडकमा पुगेका गाई–बाच्छालाई सवारीसाधनले ठक्कर दिने, कुकुरले टोक्ने, लड्नेलगायत दुर्घटना भएको देखेर तीनको उद्धारमा अभियन्ता आरबी न्यौपाने जुट्नुभएको करिब १५ वर्ष भइसकेको छ ।

मठ–मन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान–२०७१ मार्फत बेवारिसे जनावरको आश्रयस्थलका लागि सो क्षेत्र पशुपति विकास कोषले उपलब्ध गराएको थियो । औषधीय गुणयुक्त दूध, गहुँत, गोबर दिने गाईको संरक्षण, सुरक्षित बासस्थानको व्यवस्थापनमा सरकारको सहयोग पाइनँ’, अध्यक्ष न्यौपाने भन्नुहुन्छ–‘सडकबाट त उद्धार गर्छु तर गोठ नै बनाउन नसक्दा पानी र हिलोमै राख्नुपर्ने बाध्यता छ ।’

सहयोगी, शुभचिन्तककै दान, दातव्यबाट हालसम्म खाना, पानी, औषधि उपचार त गर्दै आएको उहाँको भनाइ छ । एउटा गोठमा सबै गाइबाच्छा र साँढे नअटाएकाले हिलो/पानीमा रूझेको हेरिरहनुपरेको न्यौपाने बताउनुहुन्छ ।

संस्थागत रूपमा काम गर्नुअघि उहाँले सात/आठ वर्षसम्म सडकमा बेवारिसे अवस्थामा छाडिएका गाई, बाच्छाको उपचार र खाना खुवाउने गर्नुहुन्थ्यो, देख्नेहरूले सहयोग गर्नुको साटो उहाँलाई पागल भने तर त्यो इच्छालाई अभियानको रूपमा अगाडि बढाउनुभयो ।

‘सरकारले गोठ सुधारका कार्यक्रम सार्वजनिक गरेको समाचारमा सुन्छु तर त्यो सुविधा/अनुदान लिने प्रक्रियामा लाग्दा–ाग्दा थाकें तर सहयोग पाइनँ ।’ –अभियन्ता न्यौपाने बताउनुहुन्छ । स्थानीय सरकार प्रमुखले तोक लगाएको पत्रलाई प्रशसनमा बस्नेले नटेर्ने, फाइल गायब गर्ने सरकारी कर्मचारीको बदमासीका कारण आफ्नो अभियानले सहयोग नपाएको उहाँको गुनासो छ ।

गाईलाई दूध आउन्जेल पाल्ने, अशक्त भएपछि सडकमा छोड्ने, बाच्छा, बाच्छीलाई जन्मेको केही दिनमै छाडा छोड्ने किसानलाई शक्त कारबाही नगरेसम्म छाडा गाईको समस्या रहिरहने न्यौपानेको कथन छ । अभियानले एउटा गाईका लागि दिनको २० रुपियाँ छुट्याएर वार्षिक ७ हजार २ सय रुपियाँ दिए किसानले घरमा राख्न नसकेका गाईलाई पाल्ने योजना समाजले बनाएको छ ।

सहयोगी मनहरूले दिएको पीठो, चनालगायत र आर्थिक सहयोगको भरमा त्यहाँ राखिएका गाई, बाच्छा, साँढेलाई दाना, पानीको व्यवस्था हुँदै आएको छ । ‘यसरी गरिएको बेवारिसे गाई–बाच्छा व्यवस्थापनलाई कोष तथा सरकारले सम्मान गर्नुपर्नेमा उल्टै धम्क्याउने तर्साउने र हतोत्साहित गर्ने कार्य हुँदा साहै निरास भएका छौं ।’ –न्यौपाने बताउनुहुन्छ ।

यस सम्बन्धमा पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडालाई सोद्धा पशुपत् क्षेत्रको गाई–बाच्छा व्यवस्थापनको जिम्मा कोषको भएको बताउनुभयो । ‘हिजोसम्म विविध कारणले यसतर्फ ध्यान दिन सकिएन । अब शिवरात्रिलगतै हामी त्यो ठाउँ खाली गराउँदै छौं’, उहाँ भन्नुहुन्छ– ‘त्यो ठाउँ अत्यधिक फोहर देखिएको र मरेका गाई–बाच्छा गाढ्ने ठाउँका रूपमा मात्र दोंचाख्यो बदनाम हुँदै गइरहेकाले त्यहाँका गाई–बाच्छा र गौशाला अन्यत्र व्यवस्थापन गर्दै छौं ।’

प्रतिक्रिया दिनुहोस्