राजधानीको सौन्दर्य



विश्वमा सभ्यता नदी किनारबाट सुरु भएको देखिन्छ । जहाँ नदी छ त्यहाँ बस्ती छ । मानिसका लागि नभईनहुने वस्तु पानी भएका कारण यसको निकटमा बसोवास भएको हो भनेर बुझ्न कठिन छैन । नेपालमा पनि यही नियम लागु भएको छ । राजधानी काठमाडौंमा बस्ती बाक्लिनुको पछाडि आज अनेक कारण देखिएलान्, तर हिजो यहाँ बसोवास बढ्नुका पछाडि यहाँका बागमती, विष्णुमती, मनोहरा आदि नदीको प्रमुख हात रहेको देखिन्छ । आज उपत्यकामा शहरीकरण तीव्र गतिमा बढ्दैगएको छ । बढ्दो शहरीकरणसँगै जनघनत्वको कारण प्राकृतिक सम्पदा, खोला, नदी अतिक्रमणको चपेटामा परेका छन् । मानवीय कारणले नदी तथा खोलाको अस्तित्व नै संकटमा पर्ने जोखिम बढ्दै गएको छ । काठमाडौंको प्रमुख खोला मध्येको धोबीखोला पनि एक हो ।

धोबीखोला काठमाडौंको सभ्यता र पहिचान पनि हो । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको भद्रकाली मन्दिर हुँदै बहने धोबीखोला बागमती नदीमा गएर मिसिन्छ । बुढानीलकण्ठदेखि बागमती दोभानसम्म बहने खोला करिब १२ किलोमिटरको दूरीमा फैलिएको छ । बढदो शहरीकरण र जनसंख्याको चापको कारण खोलाको अस्तित्व नै संकटमा पर्ने खतरा भएपछि सरकारले खोलालाई बचाउने दीर्घकालीन योजना अघि सारेको छ । मानविय कारणले कुरुप र प्रदुषित बन्न पुगेको खोलालाई अहिले पुरानै अवस्थामा फर्काउने अभियान थालनी भएपनि प्रभावकारी रुपमा अघिबढ्न सकिरहेको छैन । खोलाको संरक्षण र विकासको लागि सरकारले अघिसारेको धोबीखोला कोरिडोर सुधार आयोजनाले भने काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहजता थपेको छ । दिनप्रतिदिन बढ्दै गएको जनसंख्याको चापसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको सन्दर्भमा काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्माण गरिरहेको कोरिडोर निर्माणको कामले केही सहज बनाउने काम गरेको छ । हाल बागमती दोभानदेखि बुढानीलकण्ठसम्म दायाँबायाँ १२–१२ किलोमिटर गरेर २४ किलोमिटर कोरिडार निर्माणको काम सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । योसँगै कोरिडोरको क्षेत्रमा फोहोर फ्याक्ने र मापदण्ड विपरीत ढल मिसाउने क्रम भने रोकिएको छैन । कोरिडोरको सडक छेउछाउमा अनधिकृत रुपमा राखिएका गिटी, बालुवा, छड लगायतका निर्माण सामाग्रीले फुटपाथमा पैदल यात्रुलाई हिडडुल गर्न नै सास्ती हुँदै आएपछि आयोजनाले हटाउने अभियान पनि अघिसारेको छ । खोला अन्तर्गत निर्माण गरिएको पुलमुनि फोहोर फ्याक्ने क्रम बढ्दा सवारी आतवजावतमै समस्या हुनुको साथै दुर्गन्धसमेत बढेको छ । कोरिडोरमा सीधै ढल मिसाउन नपाइने प्रावधान रहेपनि एक दर्जनभन्दा बढी स्थानमा मापदण्ड विपरीत ढल मिसाउने कामसमेत भएको छ, जसको कारण खोला र आसपारको क्षेत्रमा प्रदूषण बढेको छ ।

स्थानीय तह एवं अन्य निकायबाट ढलको स्वीकृत नलिई पाइप जोड्न नपाइने, खोला किनारामा बनाइएका अनधिकृत संरचना हटाउने, फोहोर संकलन केन्द्रहरु हटाउने, खोला किनाराका बधशाला बन्द गर्ने उद्योग कलकारखाना, होटल, अस्पतालबाट निस्किएका रसायनयुक्त प्रदूषण खोलामा विसर्जन गर्न रोक लगाउने कामलाई प्रभावकारी रुपमा अघिबढाउन जरुरी छ । धोबीखोला क्षेत्रमा देखिएका समस्या समाधान पहिचान गरेर खोलामा बढ्दो प्रदूषणको कामलाई रोक्न आयोजना, सरोकारवाला निकाय र स्थानीयवासीले पर्याप्त ध्यान दिनसके मात्र राजधानीको सौन्दर्य कायम रहने छ ।

प्रतिक्रिया दिनुहोस्