मुगुका चार वटै पालिकामा सीमा निर्धारणमा विवाद


वीर बहादुर बम, मुगु ।

मुगुका चार वटै पालिकामा सीमा निर्धारणमा विवाद उब्जिएको छ। स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा उनीहरूले विवाद समाधानमा चासो दिएका छैनन् जिल्लाका पालिकाहरू बिच मात्र हैन छिमेकी जिल्ला सँग पनि सीमा विवाद उस्तै छ , छाना थरा नगरपालिकासँग सीमा जोडियको जुम्लाको डाब र घुच्ची लेखको क्षेत्रमा विवाद छ

२०७५ मा उक्त स्थानमा नगरपालिकाले गेट बनाउन लाग्दा जुम्लाको कनका सुन्दरी गाउँपालिकाका स्थानीयले आफ्नो वन क्षेत्रमा गेट बनाउन पाइँदैन भन्दै विरोध गरेका थिए । तर पालिकाले बेवास्ता गरी स्वागतद्वारा बनाएपछि कनका सुन्दरीका बासिन्दाले भत्काइदिएका थिए । नगरपालिकास्थित पिना, मुन्दु र कोटिलाका स्थानीयले भने घुच्चीडाब देखि नेपाली सेनाको ब्यारेकसम्मको क्षेत्र आफ्नो दाबी गर्दै आएका छन् ।
कनका सुन्दरीका स्थानीयले सात मोडभन्दा माथिको चौरको छेउबाट आफ्नो सिमाना भनेर दाबी गर्न थालेपछि सीमा विवाद बल्झिँदै गएको छ । विवाद समाधानका लागि नगर प्रमुख हरिजंग शाहीसहित पिना गाउँका स्थानीय र कनका सुन्दरीका अध्यक्ष नरवीर रावतसहितको टोलीबिच पटक पटक छलफल भए पनि सहमति हुन सकेको छैन ।

मुगु र जुम्लाको सिमाना विवादका कारण दुवै जिल्लाका स्थानीयलाई पशु चौपाया चराउन पनि समस्या भएको पिना गाउँका टक्क बहादुर मल्लले बताए । ‘पाँच वर्षसम्म स्थानीय सरकारले आफ्नो सीमा नै छुटाउन सकेन,’ उनले भने, ‘अरू समस्या त कति छन् कति, घाँस दाउरा गर्न र पशु चराउनै समस्या भयो ।

 नगरपालिका र छिमेकी जिल्ला हुम्लाको चाखेली गाउँपालिकाबिच पनि सीमा विवाद कायम छ । मुगुतर्फका बाम, फोइपाटा र थपालचौर गाउँका स्थानीय र हुम्लाको दार्मका बासिन्दाबिच गाईभैंसी र भेडा बाख्रा चराउने बेलासमेत पटक पटक विवाद हुने गरेको छ । २०७३ मा हुम्लाको दार्मका स्थानीय आएर मुगुको बाम गाउँका स्थानीयको लेक र खर्कका बनाइएका अस्थायी टहरा तोडफोड गरी आगजनीसमेत गरेका थिए ।

वामगाउँका स्थानीयले जोगीमारे, सातथाप्ले, अड्डा धारा र दूधतालसम्म आफ्नो वन क्षेत्र भन्दै दाबी गर्दै आएका छन् । चाखेली गाउँपालिकाको दार्मका स्थानीयले चाखेली लेकबाट आफ्नो क्षेत्र भनेपछि पटक पटक झगडासमेत भएको छ । ‘उनीहरू यता आउँदा र हामी उता जाँदा पटक पटक झगडा भएको छ,’ वडाध्यक्ष नन्दलाल बडूवालले भने, ‘सिमाना निर्धारण नहुँदा बर्खाको समयमा गाई गोरु र भेडा बाख्रा चरिचरन गर्न पनि समस्या भयो ।’ उनले सीमा विवादका कारण बाम गाउँका स्थानीयलाई जडीबुटी सङ्कलन र घर निर्माणका लागि काठ ल्याउन अप्ठेरो भएको बताए ।

मुगु मकार्मारोङ गाउँपालिका र नगर पालिकाबिचको सीमा विवाद पनि लामो समयदेखि उस्तै छ । कम्फा, लुम्स, भट्टी डाँडीका स्थानीयले गेट निर्माणदेखि कम्फा पारिको वन क्षेत्र आफ्नो भन्दै गेटसमेत निर्माण गरेका छन् । तर सोरूँ गाउँपालिका र नगरपालिकाबिचमा भने सीमा विवाद देखिएको छैन । सीमा निर्धारणका लागि नगरसँग छिमेकी गाउँपालिका र जुम्लाका बासिन्दासँग पटक पटक छलफल गरे पनि समस्या समाधान हुन नसकेको नगरप्रमुख हरिजंग शाहीले बताए । ‘अरू विकास निर्माण र प्रशासनिक काममा ध्यान दिँदा सीमा विवादको समस्या उस्तै रह्यो,’ उनले भने, ‘अझै पनि विवाद मिलाउने प्रयास भने जारी छ ।’ सीमा विवादका कारण आपसी सम्बन्ध बिग्रिएको उनले जानकारी दिए ।

सीमा विवाद रहेका गाउँका बासिन्दाबिच साना साना विषयमा पनि झगडा हुने गरेको स्थानीय युवा कमल शाहीले बताए । एक गाउँकाले अर्को गाउँकालाई विभिन्न सुविधामा प्रतिबन्ध गरिरहेका छन्,’ उनले भने, ‘विकास निर्माणका काममा पनि समस्या भइरहेको छ ।’ केही गाउँमा सीमा विवादकै कारण स्थानीयले विकासको अनुभूति गर्न नसकेको उनले बताए । सोरूँ र खत्याड गाउँपालिकाको बयाल्यामा पनि त्यस्तै समस्या उब्जिएको छ कुरा खनायाबन समितिका अध्यक्ष नरबहादुर साही बताउछन्। सीमा विवाद समाधान नहुँदा स्थानीयलाई घर बनाउन र कुनै व्यवसाय सञ्चालन गर्न पनि समस्या भएको साहीको भनाइ छ ।

सिमाना निर्धारणका लागि स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालसँग समन्वय गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । ‘स्थानीय तहले पहल गरे सिमाना निर्धारणका लागि मन्त्रालयले टोली खटाई समस्या समाधान गर्न सक्छ,’ उनले भने, ‘स्थानीय तह गठन भएको सुरुको वर्षमै सीमा छुटाउनुपर्ने हो, तर बेवास्ता हुँदा नागरिकले दुःख पाइरहेका छन् ।