एमसीसीको विरोधी खनाल र श्रेष्ठलाई गठबन्धनको बैठकमा बोलाइएन


न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोध गर्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नबोलाएको पाइएको छ । सुरुमा खनाल र श्रेष्ठ आउँदै छन् भनिए पनि दुवै नेतालाई नबोलाएको पाइएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले बैठकमा आफूलाई नबोलाइएको जानकारी दिए । उनले एमसीसी संसदमा टेबुल गर्ने सहमतिप्रति आफ्नो आपत्ति रहेको उल्लेख गरे । खनालले विदेशी शक्तिको दबाबमा एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास भएको आरोपसमेत लगाए ।

माओवादी केन्द्रका नेता श्रेष्ठले पनि बैठकबारे आफूलाई कुनै जानकारी नदिएको उल्लेख गर्दै एमसीसी संसदमा टेबुल गर्ने विषयमा पार्टीमा कुनै छलफल नभएको र आफ्नो विरोध कायमै रहेको बताए ।

खनाल र श्रेष्ठ सुरुदेखि नै एमसीसीको विपक्षमा उभिँदै आएका छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारका पालामा एमसीसी संसदमा टेबुल हुँदा साविकको नेकपामा तीव्र असन्तुष्टि उत्पन्न भएको थियो । पार्टीमा देखिएको असन्तुष्टि सम्बोधन गर्न झलनाथ खनाल नेतृत्वको एमसीसी अध्ययन समिति गठन गरिएको थियो ।

खनाल समितिले एमसीसी जस्ताको तस्तै पारित गर्न नसकिने भन्दै केही बुँदामा संशोधन गर्नुपर्ने प्रतिवेदन सरकारलाई दिएको थियो । तर, एमसीसीले यसका प्रावधानमा कुनै पनि संशोधन नहुने स्पष्ट पारिसकेको छ ।