व्यावसायिक सुन्तला खेतीबाट ६ लाख आम्दानी

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीका एक जना किसानले व्यावसायिक रूपमा सुन्तला उत्पादन गरी बिक्री गरेर यस वर्ष छ लाख रुपैयाँ आम्दानी गरेका छन् । लामो समय वैदेशिक रोजगारीमा गएर फर्किएपछि गरेको सुन्तला खेतीबाट यस पटक सो परिमाणको सुन्तला उत्पादन र बिक्री भएको हो ।

जिल्लाको बेनी नगरपालिका–४, सिङ्गास्थित बास्कुनाका किसान तिलक गुरुङले यस वर्ष सुन्तला बिक्रीबाट छ लाख रुपैयाँ आम्दानी गर्न आफू सफल भएको बताउनुभयो । उहाँले गतवर्ष सुन्तला खेतीमा औँसा किराको प्रकोप देखिएर सुन्तला उत्पादनमा कमी आउनुका साथै आम्दानी घटेको थियो । गत वर्षको तुलनामा भन्दा यस वर्ष रोग तथा किराको नियन्त्रणपश्चात् उत्पादन बढेको उहाँले जानकारी दिनुभयो ।

किसान गुरुङले गतवर्ष साढे तीन लाख रुपैयाँको मात्रै सुन्तला उत्पादन गरी बिक्री गर्नुभएको थियो । तर, यस वर्ष भने रोग, किराको नियन्त्रण, अनुकुल मौसम, बजार मूल्य र क्षेत्रफल तथा उत्पादन बढेको हुँदा सुन्तलाको कारोबार पनि बढेको उहाँको भनाइ छ । बास्कुनामा उत्पादित सुन्तलाको प्रतिकेजी होलसेल मूल्य ७० रुपैयाँ तोकिएको थियो । जिल्लाकै अगुवा सुन्तला उत्पादक किसान समेत रहनुभएका गुरुङले कुल १९ रोपनीमा मात्रै व्यावसायिक रूपमा सुन्तला खेती गर्नुभएको छ ।

१९ रोपनीमध्ये १४ रोपनीमा लगाएको सुन्तलाले फल दिएको छ भने बाँकी रोपनीको सुन्तला फल नदिने अर्थात् हुर्कँदै छ । कुल सुन्तला ७ सय बोटमध्ये साढे ३ सय बोटले उत्पादन दिएको किसान गुरुङले बताउनुभयो । बास्कुनामा सुरुमा एक्लै सुन्तला खेती सुरु गर्नुभएका उहाँले अहिले त्यहाँका ९० घरधुरीले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । पछिल्लो समय सुन्तला खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

युवा किसान गुरुङ यसअघि रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्थ्यो । उहाँ साउदीअरब ६ वर्ष, सिङ्गापुर, कम्बोडिया र बर्मा १२ वर्ष तथा थाईल्याण्डमा डेढ वर्ष बसेर गाउँ फर्किनुभएको थियो । लामो समय अर्काको देशमा बस्दा पनि सोचेजस्तो कमाई नभएपछि गाउँ फर्किएर कृषि खेतीमा लागेको उहाँले बताउनुभयो ।