मतदाता परिचयपत्र फेला नपर्ने मतदाताहरूका लागि फागुन २० गतेसम्म निवेदन दिने समयसीमा

निर्वाचन केन्द्रीत एकीकृत सुरक्षा योजना तयार : प्रजिअ



मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला निर्वाचन आयोग काभ्रेपलाञ्चोकले फागुन २० स म्म मतदाता परिचयपत्र हराएका नागरिकहरूलाई निवेदन दिन अनुरोध गरेको छ । मतदानमा फोटो सहितको मतदाता परिचयपत्र अनिवार्य भएकाले यस अघि मतदानमा भाग लिई मतदाता परिचय पत्र हराएका वा विभिन्न कारण नष्ट भएका व्यक्तिहरूले वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन अनुरोध गरेको हो ।

‘निर्वाचन आयोगको परिपत्र अनुसार अहिले नामावली संकलन र बसाई सराई भएका व्यक्तिहरूको ठाउँसारी गर्ने कार्य स्थगित भएको छ’–जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राईले भन्नुभयो–‘अहिले मतदाता परिचयपत्र हराएका वा कुनै कारण मतदाता परिचयपत्र फेला नपरेका व्यक्तिहरूले आयोगको कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरेको छ ।’

जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने कार्य भइरहेको बताउँदै निर्वाचन प्रमुख राईले यस अघि कायम गरिएका १८९ वटा मतदान स्थलका ३५० वटा मतदान केन्द्र हालसम्म कायम रहेको बताउनु भयो ।

‘मतदाता नामावली अन्तिम भए पछि मतदान स्थल र  केन्द्रका बारेमा पुनः राजनीति दल र सरोकारवाला निकाय बसेर टुङ्गो लगाइनेछ’–प्रमुख राईले भन्नुभयो–‘एउटा मतदान स्थलमा क, ख, ग मतदान केन्द्र रहँदा एउटा केन्द्रमा १ हजार मतदातासम्मले मतदान गर्न सक्ने कानुनी व्यवस्था छ ।’

छैटौँ निर्वाचन दिवसको अवसर पारी जिल्ला निर्वाचन कार्यालयले सबै, सधैँ र सँगै भन्ने नाराका साथ निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्न सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्थानीय तहको आगामी २०७९ बैशाख ३० गते हुने निर्वाचनको तयारी शुरु गरिएको बताउनु भयो ।

‘निर्वाचन केन्द्रीत एकीकृत सुरक्षा योजना तयार गरिसकेका छौँ’–प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो–‘सबै नागरिकहरूलाई भय रहित वातावरणमा सुरक्षित रूपमा निष्पक्ष तरिकाले मतदानमा भाग लिन पाउने वातावरण तयार गर्न क्रियाशील भएका छौँ ।’

निर्वाचनकै लागि कर्मचारीहरूको विवरण संकलन गरिरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मतदान स्थल र केन्द्रको अनुगमन गरिरहेको बताउनु भयो । निर्वाचन सम्बन्धी अन्य तयारीका काम शुरु भएको बताउँदै पाण्डेले सहकार्य, समन्वय र समझारीका साथ स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

काभ्रेपलान्चोक जिल्लामा २०७४ सालको निर्वाचनमा २ लाख ७७ हजार २ सय ९२ जना मतदाता रहेका थिए भने २०७८ माघ २५ गतेसम्म काभ्रेपलान्चोक जिल्लामा ३ लाख मतदाता पुगेका छन् । मतदाताहरूको नामावली अद्यावधिक हुने कार्य भइरहेकाले उक्त सङ्ख्या थपघट हुन सक्ने बताइएको छ ।

नेपालमा २०१५ साल फागुन ७ गते पहिलो निर्वाचन भएकाले त्यही दिनलाई आधार मान्दै विगत ६ वर्ष देखि निर्वाचन दिवस मनाउन शुरु गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला समन्वय अधिकारी भिमप्रसाद भट्टराई, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्