अवरुद्ध सडक अझै सुचारु भएनन्



डोटी ।

डोटी जिल्लामा दुई हप्ताअघि भएको भारी हिमपातसँगै परेको वर्षात्ले अवरुद्ध भएका ग्रामीण सडकहरू अझै सुचारु हुन सकेका छैनन् । समूहगाढ–कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने फास्टट्रयाकलगायतका सडकका विभिन्न खण्डमा हिमपातले रुख ढल्दा तथा वर्षात्ले पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।

अवरुद्ध भएका सडकहरु मर्मत नगरिएका कारण यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ । सडक सुचारु नभएका कारण एक घण्टाको यात्रामा पुगिने ठाउँमा कम्तीमा पनि दुईदेखि तीन घण्टा लाग्ने गरेको चालकहरु बताउँछन् । वर्षात्ले क्षत–विक्षत भएका सडक नियमित मर्मत नहुँदा यात्रु गाडी चढ्नै डराउन थालेका छन् भने ठाउँ–ठाउँमा पहिरो र हिलाम्य सडक हुँदा यातायातका साधनहरुसमेत जोखिमपूर्णरूपमा सञ्चालन हुने गरेका शैलेश्वरी यातायात व्यवसायी प्रालिका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । ‘वर्षा र हिउँले गाउँका सडक भताभङ्ग बनाएका छन्, मर्मत नगरिँदा गाडी चलाउन गारो भएको छ, जोखिम पनि बढेको छ ।’ –उहाँले भन्नुभयो ।

यहाँका तल्कोट, मुडभारा, फलेडी, पूर्वेबगरलगायतका सडक अवरुद्ध छन् । सडकको अवस्था दयनीय भए पनि मर्मतमा भने कसैको ध्यान नपुगेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी माया बम बताउनुहुन्छ । सडक मर्मत नहुँदा बिरामीले समेत सास्ती भोग्ने गरेको उहाँको भनाइ छ । जिल्लाका ग्रामीण सडक मात्र नभई मुख्य राजमार्गको अवस्था पनि दयनीय छ । यहाँका तीन जिल्ला जोड्ने डा. केआईसिंह राजमार्गको रडुवामा गएको असोजमा आएको बाढी–पहिराले सडक नै बगाएपछि अहिले अस्थायी रूपमा सडक निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ ।

उक्त अस्थायी (कामचलाउ) सडकमा ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न निकै जोखिम हुँदै आएको ट्रक चालक प्रकाश मल्लले बताउनुभयो । ‘काम चलाउन साँघुरो सडक बनाइएको छ, कति बेला दुर्घटना हुन्छ थाहा छैन् । ज्यान जोखिममा राखेर गाडी चलाउन बाध्य छौं ।’ –उहाँले भन्नुभयो ।

त्यसै गरी, जिल्ला सदरमुकाम सिलगढीदेखि कलेना जोड्ने तथा शान्तिनगरदेखि नारीदाङ् जोड्ने सडक पनि मर्मत नभएका कारण यातायातका साधन सञ्चालनमा समस्या उत्पन्न हुने गरेको स्थानीयवासीको भनाइ छ । गाउँका सडकहरु मर्मत नगरिएका कारण गाउँमा उत्पादन गरिएका साग तरकारीहरु बजारसम्म लैजान नपाउँदा गाउँमै कुहिने तथा गाईभैंसीलाई कुडो बनाउनुपर्ने अवस्था आएको केआईसिंह गाउँपालिकाका स्थानीयवासी वासुदेव जोशीले बताउनुभयो । ‘गाउँमा प्रसस्त साग तरकारी फलेको छ, बजारसम्म लैजान सडक छैन, किसानले उत्पादन गरेका वस्तु बारीमै कुहिन थालेको छ ।’ –उहाँले भन्नुभयो ।

जिल्लामा जताततै सडक खन्ने होडबाजी हुने तर वर्षात् हुँदा ती सडक बिग्रिने र मर्मत नगरिँदा समस्या हुने गरेको छ । सडक मर्मत तथा सुचारुको जिम्मा पाएका यहाँका स्थानीय तह तथा सडक डिभिजन कार्यालयले मर्मतका लागि चासो नदिँदा समस्या भएको स्थानीयवासीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्