पीसीआर परीक्षण घटाउँदा कोरोना संक्रमितको संख्या न्यून देखियाे

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमण दर घटबढ परीक्षणमा निर्भर छ । पछिल्लो २४ घण्टामा परीक्षण गर्नेको संख्या ९ हजार ७ सय ८९ जना रहेको छ । यो कुल जनसंख्या अर्थात् संक्रमितको संख्याको न्यून संख्या हो । परीक्षण गरिएका मध्ये ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । यो अंकलाई हेरेर खुसी हुन नमिल्ने स्वास्थ्य विज्ञहरूको ठम्याई छ ।

एक काटी सलाईले जसरी दहन गर्न सक्छ त्यसरी नै एक जना कोरोना संक्रमित भिडभाडमा बिना मास्क हिडदा उत्तिकै संक्रमण फैलाउन सक्छ । कोरोना संक्रमण न्यूनीकरण मात्र भएको हो नियन्त्रण भएको छैन र हरेक दिनको भिडभाड स्वास्थ्य मापदण्डको पालना नगर्नु आम नागरिकका लागि उत्तिकै खतरनाक छ ।

पहिलो र दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण भन्दा ओमिक्रोन केही सामान्य देखिए पनि यसको संक्रमण दर भने पहिलाको भन्दा ७० गुनाले छिटो फैलने खालको भएकोले कोरोना भाइरसलाई सामान्य मान्न नहुने र स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्नुपर्ने जोड दिनुहुन्छ सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुन ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार हरेक दिन संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्नुले जनमानसमा कोरोनासँगको डर कम भएको पक्कै हो तर स्वास्थ्य मापदण्डको पालना नगरे पुनः पहिलाकै अवस्था ननिम्तेला भन्न नसकिने
चिकित्सकहरू बताउँछन् ।

बिहीबारको मन्त्रालयको रिपोर्ट अनुसार १ हजार ९ सय ९३ संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४६ हजार ३३० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९ सय ११ रहेको छ ।

हाल देशभर १६ हजार ६१६ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १५ हजार ९ सय ४७ होम आइसोलेसनमा र ६ सय ६९ संस्थागत आइसोलेसनमा रहेका छन् । १ सय ५१ जनाको आइसियु र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयको रिपोर्टमा उल्लेख गरिएको छ ।

यता सरकारले सबै उद्योग, कलकारखाना, सिनेमा हल, विद्यालय, कलेज लगायतका सम्पूर्ण निकायलाई स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न खुल्ला गरेसँगै आम नागरिकले स्वास्थ्य मापदण्डको पालना गरे नगरेको निगरानी कसले गरेको छ रु स्वास्थ्य मापदण्डको पालना किन र के का लागि गर्ने भन्ने विषयमा आम नागरिक कत्तिको सचेत छ । यदि कोही कसैले स्वास्थ्य मापदण्डको पालना नगर्दा कोरोना संक्रमण फैलियो भने के कस्तो दण्ड, सजाय हुन्छ भन्ने बारेमा खासै नागरिकको ध्यान पुगेको देखिन्न ।

सडक, यातायात, अस्पताल, उद्योग, कलकारखाना, सरकारी कार्यालय, लगायत सरकारकै आधिकारिक निकायमा समेत स्वास्थ्य मापदण्डको पालना गरिएको पाइन्न । सडकमा देखिएका नारा जुलुसमा पनि पूर्ण रूपमा स्वास्थ्य मापदण्डको पालना नगर्दा भोलिका दिनमा कति व्यक्ति यसबाट प्रभावित हुने हुन लेखाजोखा छैन ।