शैक्षिक सुधार कार्यक्रममा ७४ विद्यालय छनोट



बैतडी ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ७४ विद्यालय छनोट भएका छन् । चालू आर्थिक वर्षमा सिफारिस भएका ३ सय ५६ विद्यालयमध्ये ७४ सार्वजनिक विद्यालय छनोट भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीका अनुसार छानिएका विद्यालयमध्ये आईसीटी ल्याब व्यवस्थापन ३३, दुईकोठे भवन ३२, चारकोठे भवन ८ र प्राविधिक ल्याब १ निर्माण गरिनेछन् । जसमध्ये पाटन नगरपालिकामा सबैभन्दा बढी विद्यालयका भवन निर्माण हुने भएका छन् ।

६ विद्यालय २ कोठे भवन र ६ विद्यालय आईसीटी ल्याब व्यवस्थापनका लागि छानिएका छन् । दोगडाकेदार गाउँपालिकामा २ विद्यालय चारकोठे भवन, चार विद्यालय दुईकोठे भवन र ३ विद्यालयमा आईसीटी व्यवस्थापन र भने सिगास गाउँपालिकामा ७ विद्यालयमा दुईकोठे भवन, आईसीटी ल्याब व्यवस्थापनमा २ विद्यालय छनोट भएका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

यस्तै, पुर्चौडी नगरपालिकामा १ विद्यालय चारकोठे भवन, १ विद्यालय दुईकोठे भवन र ६ विद्यालय आईसीटी ल्याब व्यवस्थापनका लागि छनोट भएका छन् । दशरथचन्द नगरपालिकामा १ विद्यालयमा चारकोठे भवन, २ विद्यालयमा दुईकोठे भवन, ४ विद्यालयमा आईसीटी व्यवस्थापनका लागि छनोट भएका छन् ।

यस्तै, मेलौली नगरपालिकामा चारकोठे भवन १, दुईकोठे भवन १, आईसीटी ल्याब ४, प्राविधिक ल्याब १ गरी जम्मा ७ विद्यालय छनोट भएका छन् भने डिलाशैनी गाउँपालिकामा ४ कोठे भवनका लागि १, दुईकोठे भवनका लागि २ र आईसीटी ल्याबका लागि ३ विद्यालय छनोट भएका छन् । शिवनाथ गाउँपालिकामा ५ दुईकोठे भवन र ३ आईसीटी ल्याब निर्माण हुने जनाइएको छ ।

यस्तै, पञ्चेश्वर गाउँपालिकामा २ विद्यालय चारकोठे, २ दुईकोठे र १ आईसीटी ल्याब छन् भने सुर्नया गाउँपालिकामा दुईकोठे भवनका लागि २ र आईसीटी ल्याबका लागि ३ विद्यालय छनोटमा परेका छन् । चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख र दुईकोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याबका लागि ६ लाख ५० हजार र एउटा ल्याबका लागि १० लाख रकम छुट्याएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट चारकोठे भवन निर्माणका लागि आफ्नो विद्यालय छनोट भएकोमा सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक बलदेव नाथले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘भवन अभावले एउटै कक्षामा १ सय बढी विद्यार्थी राखेर पठनपाठन गर्नुपर्ने अवस्था थियो, चारकोठे भवन परेको छ, भवन निर्माणपश्चात् विद्यार्थीको पठनपाठनमा सहजता आउनेछ ।’

बैतडीका १० वटै स्थानीय तहबाट ३ सय ५६ विद्यालय सिफारिस गरिएका थिए । उक्त कार्यक्रमअन्तर्गत गत वर्ष बैतडीका २ सय ८ विद्यालय सिफारिस भएकोमा १ सय ३० विद्यालय छनोट भएका थिए ।

सरकारले देशभरि राष्ट्रपति शैक्षिक सुधारका लागि सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालू आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । छनोट भएका विद्यालयका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्