वृद्धलाई नयाँ घर उपहार

0
Shares

इलाम ।

इलाम माईजोगमाई गाउँपालिका–४ नामसालिङ्का ८० वर्षीय वृद्ध फिपराज सुब्बाको यतिखेर खुसीको सीमा छैन । सानो जीर्ण बनेको कटेरो जस्तो टाटीले बारेको घरमा विगत दुई दशकदेखि एक्लो जीवन बिताउँदै आउनुभएका सुब्बाले सोचेका पनि थिएनन्, आफू राम्रो घरमा बस्छु, घरमै पानीको धारा जडान हुन्छ भन्ने ।

स्थानीय युवाको सक्रियतामा उनको घर निर्माण गरिएको हो । युवाले पाइप खरिद गरेर घरमै पिउने पानीको धारा जडान गरिदिएका छन् । स्थानीय सुरेश भट्टराई, मनोज भट्टराई, गणेश तिम्सिना, अशोक विश्वकर्मा, विनोद न्यौपाने, कृष्ण तिम्सिना, अविचन्द्र सञ्जेल, झलेन्द्र ढकाल, विजय वाइबालगायतका युवाले ८० हजार रुपियाँ बढी संकलन गरेर सुब्बाको घर निर्माण गरिदिएका हुन् । आर्थिक अवस्था कमजोर सुब्बाको घर निर्माण गरिदिएर उनलाई घरको साँचो हस्तान्तरण गरिएको स्थानीय युवा सुरेश भट्टरलाईले बताउनुभयो ।

लामो समयदेखि एक्लै बस्दै आउनुभएका सुब्बाको अन्य परिवारको हालसम्म अत्तोपत्तो नभएको स्थानीय बताउँछन् । नयाँ घरमा बस्न पाउँदा आफूलाई धेरै खुसी लागेको सुब्बाले बताउनुभयो । यस्तै, स्थानीय युवा समाजसेवी सुरेशकै सक्रियतामा सुब्बाको घरनजिकै रहेको पानीको मुहानबाट उहाँकोे घरसम्म पुग्ने १ सय ५० मिटर पाइप खरिद गरेर धारासमेत जडान गरिएको छ । त्यस्तै, वृद्ध सुब्बालाई झापा बुद्धशान्ति गाउँपालिकाका होमनाथ पोख्रेलले लत्ताकपडासहित ओड्ने–ओछ्याउने प्रदान गर्नुभएको थियो ।