जापानले दियो उपचार सामग्री



काठमाडौं, (नेस) ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. अञ्जनीकुमार झालाई उपचार सामग्री सहयोग गर्नुभएको छ । यी उपचार सामग्री भक्तपुर जिल्लास्थित काठमाडौं क्यान्सर अस्पतालका लागि प्राप्त भएका हुन् । कमजोर अवस्थाका व्यक्तिको सुरक्षाका लागि अनुदान सहयोग कार्यक्रम (जीजीपी) अन्तर्गत यो सहयोग दिएको नेपालस्थित जापानी राजदूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । यो सहयोग करिब ८८ लाख नेपाली रुपियाँ बराबरको रहेको छ ।

सहयोग प्राप्त सामग्रीमा शल्यक्रिया कक्षमा प्रयोग हुने लाइट, क्यामेरा, मनिटर र शल्यक्रियाका बेला जस्तोरूपमा पनि प्रयोग गर्न मिल्ने बहुउद्देश्यीय अपरेसन टेबल रहेका छन् । क्यान्सर रोगीलाई परामर्श तथा उपचार सेवा दिँदैआएको काठमाडौं क्यान्सर सेन्टरले आधुनिक उपकरणको अभावमा शल्यक्रियामा कठिनाइ भोगिरहेका बेला यो उपकरण प्रदान गरिएको पनि विज्ञप्तिमा जनाइएको छ । राजदूतावासले यी आधुनिक सामग्रीको जडानपछि सेन्टरलाई शल्यक्रिया गर्न सहज हुने पनि विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्