‘निजगढ विमानस्थल निर्माणको काम चाँडै शुरू हुने’



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ । बुधबार बाराको निजगढमा रिपोर्टस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै शुरू हुने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम शुरू गराउने छौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य विभिन्न दलका शीर्षस्थ नेता, मन्त्रीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहितका कर्मचारीले अनुगमन गरेकाले विमानस्थल निर्माणको काम चाँडै अगाडि बढाइने पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभयो ।

सोही पत्रकार सम्मेलनमार्फत मन्त्री आलेले निजगढ विमानस्थलको काम सरकारले तोकेको स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै शुरू हुनेसमेत दाबी गर्नुभयो । पत्रकारहरूले सोधेका प्रश्नको जवाफमा मन्त्री आलेले भन्नुभयो–‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी हाम्रो काम चाँडै सुरूआत गर्ने छौं ।

यसै गरी मन्त्री आलेले सरकारले जीटुजीलगायत अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम शुरू गर्ने बताउनुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच गठबन्धन दलहरूको पनि सहमति भएकाले यहाँ जसरी भए पनि विमानस्थल निर्माणको काम शुरू हुने मन्त्री आलेले विश्वास गर्नुभयो ।

प्रेम आले काम गर्न आएको मन्त्री हो, कुर्सीमा बस्न आएको होइन, वर्षौंदेखि रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स रद्द गर्नेदेखि रोयल्टी तिर्न लगाएको छु’, उहाँले थप भन्नुभयो– ‘विश्वास गर्नुस् म निजगढ विमानस्थलको काम शुरू गराएरै छोड्छु ।

काठमाडौं पछिको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ भएकाले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जर्नादन शर्मासँग निर्माणका लागि चाहिने आवश्यक बजेटका लागि व्यवस्था हुने भन्ने कुरा भइसकेकाले हाम्रो गुरु योजना तयार भएको र अब चाँडै काम शुरू हुने मन्त्री आलेले दाबी गर्नुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि यहाँको जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्ती पुनःस्थापना गर्नु पर्ने मुख्य काम रहेकाले यहाँको बस्ती स्थानान्तरणको काम चाँडै सम्पन्न गरिनुपर्ने स्थानीयवासीको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्