लन्डन, (एजेन्सी) ।
युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनद्वारा रियल मेड्रिड पराजित भएको छ ।
इन्जुरी समयमा युवा स्टार क्लियन एमबाप्पेले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा पीएसजीले संघर्षपूर्ण जित निकालेको हो । बुधबार बिहान भएको खेलमा पीएसजीले स्पेनिस क्लब रियल मेड्रिडमाथि १–० गोलअन्तरको कठिन जित निकालेको हो । यससँगै, पीएसजीले क्वार्टरफाइनल प्रवेशको ढोकालाई मजबुत बनाएको छ । तर, अर्को महिना हुने दोस्रो लेगको खेल निर्णायक हुनेछ ।
महत्वपूर्ण समयमा पाएको पेनाल्टी सुपरस्टार लिओनल मेसीले खेर फालेपछि खेल निराशाजनक गोलरहित बराबरी नजिक पुगेको थियो । तर, एमबाप्पेले खेलको ९४औं मिनेटमा गोल गरेपछि पीएसजीले पहिलो लेगमा कठिन तर महत्वपूर्ण जित हात पार्न सफल भयो । पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेस रंगशालामा भएको खेलमा पीएसजीले पहिलो रोजाइको टिम उतारे पनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
खेलको ९३औं मिनेटसम्म खेल गोलरहित भएको बेला लामो समयपछि चोटमुक्त हुँदै सब्सिच्युट खेलाडीका रूपमा मैदान छिरेका नेयमारको सुन्दर ब्याकहिल पासमा एमबाप्पेले लो सटमा उत्कृष्ट गोल गरेर टिमलाई जिताए । उनले हानेको लो सट रियलका गोलकिपर थिबाउट कोर्टुवाको टाङ मुनिबाट छिरेको थियो । त्यसअघि, नै पीएसजीले गोल गर्ने अवसर पाएको थियो । पेनाल्टी बक्समा रियलका डिफेन्डरले एमबाप्पेलाई लडाएपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिने निर्णय गरेका थिए । तर, मेसीले हानेको पेनाल्टी रियलका गोलकिपर कोर्टुवाले शानदार बचाएपछि रियल अग्रता लिनबाट चुकेको थियो । त्यसपछि रियलले खेलमा सुधार गर्दै केही अवसर समेत बनाएको थियो तर गोल भने गर्न सकेन ।
पीएसजी पुगेयता मेसीले पहिलोपटक पेनाल्टीमा गोल गर्नबाट चुकेका हुन् । यसअघि, उनले च्याम्पियन्स लिगमै पाँच खेलबाट पाँच गोल गर्नेक्रममा दुई गोल पेनाल्टीमार्फत् नै गरेका थिए । तर, आफ्नो पुरानो प्रतिस्पर्धी रियलविरुद्ध च्याम्पियन्स लिगमा खेल्दा मेसी च्याम्पियन्स लिगमा यस सिजनको छैटौं गोल गर्नबाट चुके । पेनाल्टी मिस गर्नुबाहेक मेसीले उक्त खेलमा सामान्य प्रदर्शन मात्रै गरेका थिए । मेसीले पेनाल्टी मिस गरेपछि दबाबमा देखिएको पीएसजीका लागि अन्ततः अन्तिम समयमा एमबाप्पले गोल गरेर टिमलाई जिताए ।
च्याम्पियन्स लिगमा रियलले २१औं शताब्दीमा नकआउट चरणको खेलमा विपक्षी टिमविरुद्ध खेलभरिमा एउटा पनि सट अन टार्गेट राख्न नसकेको यो नै पहिलोपटक हो । पीएसजीविरुद्ध रियलले कुल ४२ प्रतिशत बल पाउँदा ५ सय ९ पटक पास पूरा गरेको थियो । अब पीएसजी र रियलको दोस्रो लेगको खेल अर्को महिना रियल मेड्रिडको घरमा हुनेछ । सो लेगको नतिजापछि अर्को चरण जाने र प्रतियोगिताबाट आउट हुने टोलीको टुंगो लाग्नेछ ।
अब रियलको घरेलु मैदानमा जाँदा पीएसजीले गोलरहित बराबरी मात्र खेले पनि अर्को चरणमा पुग्न पर्याप्त हुनेछ । तर, रियलले भने कम्तीमा दुई गोलको अन्तरमा जित्नुपर्ने समीकरण बनेको छ । यस सिजनदेखि च्याम्पियन्स लिगमा अवे गोलको नियम हटाइएकाले नकआउट चरणमा जितका लागि स्पष्ट गोल अन्तरमै जित निकाल्नुपर्ने हुन्छ । यो नियम यसै सिजनबाट मात्रै लागू भएको हो । गत सिजनसम्म दुई लिग सकिँदा गोल बराबरी भए धेरै अवे गोल गर्ने टिम विजयी हुने नियम थियो । जारी सिजनदेखि यो नियम हटाइएको छ ।











प्रतिक्रिया