हालै रिलिज भएको बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म गहराईयाले दर्शक र समीक्षकको सन्तोषजनक प्रतिक्रिया पायो। आधुनिक समयका जटिल सम्बन्धमा आधारित फिल्ममा दीपिकाले दिएको बोल्ड सिनको चर्चा चलिरहेको बेला अर्की अभिनेत्री कंगना रनावतले पनि फिल्मलाई लिएर आफ्नो प्रतिक्रिया दिएकी छन्।
उनले मनोज कुमार तथा माला सिन्हाको फिल्म हिमालयकी गोदमेमा समावेश चाँद सी महबुबा हो मेरी बोलको गीत इन्स्टाग्राममा सेयर गर्दै आफ्नो भनाइ राखेकी छिन्। ‘म पनि यही शताब्दीको हुँ। म यस्तो खालको रोमान्स बुझ्छु। जो यही शताब्दीको नयाँ वर्ग अथवा आधुनिक हुने नाममा सेवा गरिरहेका छन्, उनीहरूलाई भन्न चाहन्छु कृपया यस्तो नगर्नु होला, नराम्रो फिल्म त नराम्रो नै हुन्छ। जतिसुकै अंग प्रदशन गरे पनि, अश्लील फिल्म देखाए पनि यसको नाममा फिल्मलाई जोगाउन सकिँदैन। कृपया फिल्मको नाममा फोहोरी कुरा बिक्री नगर्नुहोस्। गहराईया गहिराई विनाको सत्य हो’ उनले इन्स्टामा भनेकी छिन्।
केही समयअघि आफ्नो मुख्य भूमिका रहेको फिल्म मनिकर्णिका द क्विन अफ झाँसीलाई लिएर बलिउड कलाकारबाट तारिफ नपाएकोमा आक्रोश व्यक्त गरेकी कंगनाले दीपिकाको फिल्मलाई लिएर भने असन्तुष्टि पोखेकी छिन्। छिट्टै नै नयाँ रियालिटी शोको होस्ट गर्न लागेकी कंगनालाई उक्त शोको लन्च कार्यक्रममा एक पत्रकारले दीपिकाबारे प्रश्न गर्दा दीपिकाको फिल्मको प्रमोसन नगर्न भन्दै उनी पत्रकारमाथि नै खनिएकी थिइन्।
यसभन्दा अघि पनि उनले मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामा लागिरहेकी दीपिकालाई मानसिक स्वास्थ्यको नाममा आफ्नो व्यापार बढाइरहेको आरोप लगाएकी थिइन्। कंगना बेला–बेला दीपिकाको आलोचनामा उत्रिरहने गरे पनि दीपिका भने मौन रहने गरेकी छिन्।
प्रतिक्रिया