निजगढ विमानस्थल निर्माणको काम चाँडै सुरु हुन्छ : अध्यक्ष नेपाल

0
Shares

विमल विष्ट, बारा ।

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चाडै सुरु गरिनु पर्ने बताउनु भएको छ । नागरिक उड्डयन प्राधिकरणले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्तीमा आज मंगलबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीमा लैजाने योजना थियो, निजगढमै बनाउन आफूले पहल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजगढमा विमानस्थल बनाउनका लागि कुनै विलम्ब गरिनु हुँदैन, चाडै बनाउनु पर्छ ।”

यसै गरी अध्यक्ष नेपालले निजगढमा विमानस्थल निर्माण गरिए सबै क्षेत्रका नागरिकलाई सहज हुने भएकाले यो परियोजना चाँडो सुरुआत गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । एक छुट्टै प्रसङ्गमा बोल्नु हुँदै अध्यक्ष नेपालले अहिले सरकारमा समावेश भएका आफ्ना पार्टीका मन्त्रीहरूको बदनाम गराउनका लागि विभिन्न तत्त्वहरू लागि परेकाले त्यस्ता तत्त्वहरूबाट बच्न तथा मन्त्रीहरूले पनि आफ्ना बोली भाषामा सावधानी अपनाउन र मिठास बोली प्रयोग गर्न आग्रह गर्नुभयो ।

राम्रो काम गर्ने मान्छेलाई बद्नामित गराउन खोज्नेहरू आफै नाङ्गिएर जाने अध्यक्ष नेपालको भनाइ थियो ।सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री रामचन्द्र पौडेलले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि निर्माण गरिनु पर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरो वर्षौँ पहिलेदेखि चल्दै आएको तर काम सुरु नभएकाले अब यो सरकारले चाडै काम सुरु गर्नु पर्छ ।” सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको काम चाडै सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डिपिआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी हाम्रो काम चाडै सुरुआत गर्ने छौँ ।”

एक छुट्टै प्रसङ्गमा मन्त्री आलेले विभिन्न सामाजिक सञ्जालमा मेरो मानमर्दन हुने गरी केही व्यक्तिले गलत भिडियो पोष्ट गर्ने तथा नकारात्मक स्टाटर्स लेखी बदनाम गर्न खोजेकाले त्यस्ता खालका आधार हीन र तत्थ्यहिन पोष्ट तथा भिडियोलाई विश्वास नगर्न समेत आग्रह गर्नुभयो ।

 

उहाँले भन्नुभयो, “मैले गर्दै आएका राम्रा र सकारात्मक कामबाट अतालिएकाहरूले मेरो बदनाम गर्ने कोसिस गर्दै छन्, म सधैँ नागरिकको पक्षमा छु र नागरिककै हकहितका लागि काम गर्ने छु ।” निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि यहाँको जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्ती पुनर्स्थापना गर्नु पर्ने मुख्य काम रहेकाले यहाँको बस्ती स्थान्तरणको काम चाडै सम्पन्न गरिनु पर्ने कार्यक्रमका अधिकांश वक्ताहरूको भनाइ थियो ।