अत्यधिक हिमपातले आलु बिग्रने चिन्ता

0
Shares

दोलखा ।

आलुको लागि देशभरिकै उत्कृष्ट थलो ठानिएको दोलखा शैलुङ गाउँपालिका– ८ झोर र मनगाउँका किसानहरूमा अहिले अलिअलि खुसी अनि अलिअलि चिन्ता देखिएको छ । यो वर्ष पुस माघमा अत्यधिक हिमपात भएपछि आलु खेती सप्रिने आशमा धेरै किसानहरू खुसी छन् । तर, आलु रोपिसकेका केही किसानलाई अत्यधिक हिमपातका कारण बिउ कुहिने हो की भन्ने पिरलोले चिन्तित बनाएको छ – झोरका स्थानीय किसान दीपेश श्रेष्ठले बताउनुभयो ।

शैलुङ– ८ को झोर गाउँ अन्य ठाउँको तुलनामा अलि सेपिलो भएकोले चाँडै आलुको बिउ लगाइएको स्थानीय किसानहरू बताउछन् । दुई/तीन पटक हिमपात हुँदा आलु उत्पादन राम्रो हुने थियो तर यो वर्ष अत्यधिक हिमपात भएकाले बिउ कुहिने चिन्ता थपिएको छ– स्थानीय श्रेष्ठले बताउनुभयो ।

झन्डै ६५ घर धुरी रहेको झोरका किसानहरूले वर्षमा एक करोडभन्दा बढी आलु बिक्री गर्दै आएका छन् । यो पटक बिउ कुहियो भने उत्पादन केही घट्न सक्ने स्थानीयको भनाइ छ । वडा नम्बर– ८ कै मनगाउँका ३०/३५ घर धुरीका किसानले पनि आलुको बिउ लगाइसकेका छन् । उनीहरूलाई पनि बिउ कुहिएर उत्पादन घट्ने चिन्ता रहेको मनगाउँका स्थानीय किसान शोभित श्रेष्ठ बताउनुहुन्छ ।

यो मौसममा २/३ पटक हिमपात हुँदा आलु उत्पादन धेरै राम्रो हुन्छ तर यो वर्ष ६/७ पटक नै हिमपात भएकोले आलु उत्पादन घट्ने हो कि भन्ने चिन्ता थपिएको छ – स्थानीय शोभित श्रेष्ठले भन्नुभयो । मनगाउँमा झन्डै ८० घर धुरी रहेको र वर्षको एक करोडभन्दा बढीको आलु बिक्री गर्दै आएको शोभितले बताए । आलुको बिउ लगाउन बाँकी रहेका किसानहरूलाई भने अत्यधिक हिमपातले खुसी बनाएको शोभितले बताउनुभयो ।

काठमाडौंलगायत देशको विभिन्न ठाउँमा मुडेको आलु भन्दै बिक्री वितरण हुने धेरै आलु शैलुङ–८ को झोर र मनगाउँबाटै जाने गरेको स्थानीय किसान बताउँछन् । साउन अन्तिमसम्म आलु खनिसकेपछि काउली लगाउन भने अत्यधिक हिमपातले फाइदा पुग्ने स्थानीय किसानको भनाइ छ । झोर र मनगाउँका किसानहरूले वर्षमा दुई करोडभन्दा बढीको काउली बिक्रि गर्दै आएका छन् । आलु र काउली गरेर झोर तथा मनगाउँबाट मात्र चार करोडभन्दा बढीको तरकारी निर्यात हुने गरेको स्थानिय किसानहरूको भनाइ छ ।

झोर र मनगाउँमा आलु धार्निको ८० देखि एक सय रूपैयासम्म र काउली केजीको १५/२० रूपैयामा बिक्रि हुने गरेको छ । झोर र मनगाउँमा एक परिवारले आलु र काउली गरी सामान्यतया दुई लाख देखि ४/५ लाखसम्मको तरकारी बिक्रि गर्दै आएका छन् । शैलुङ गाउँपालिकाको पहलमा गाउँमा सडकको विस्तार तथा किसानहरूलाई विभिन्न सहयोग प्राप्त भएकोले केही सहज बनेको स्थानीयको भनाइ छ । पालिकाले सडकको स्तरवृद्धि र बजार व्यवस्थापनको लागि सहयोग गरिदिए थप सहज हुने उनीहरू बताउँछन् ।