पशुपतिमा फूल प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित हुन्छ : मन्त्री आले

0
Shares

विमल विष्ट, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फुल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरू व्यवस्थित गरिने बताउनु भएको छ । आज सोमबार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुसँगको छलफलका क्रममा मन्त्री आलेले फूल प्रसाद बिक्री गर्ने ठाउँ साँघुरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण उक्त पसलहरू व्यवस्थित ठाउँमा सार्न निर्देशन दिनु भएको हो ।

पशुपति क्षेत्र नेपालका चार धाम मध्ये एक भएको र पशुपति नाथ राष्टदेब भएकाले त्यहाँ सफा सुग्घर राख्न समेत विकास समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो । मन्त्री आलेले भन्नुभयो, “पशुपति नाथमा आउने भक्तजनलाई कुनै पनि कुराको असहज नहोस्, राष्ट्रदेव पशुपतिनाथ क्षेत्रलाई सुन्दर र सफा राख्नुस् ।” पशुपति नाथ क्षेत्रमा फुल प्रसाद बिक्री गर्दै आएका व्यापारीहरूलाई उचित स्थानमा सार्न र उनीहरूका समस्या एक हप्तामा समाधान गर्न समेत मन्त्री आलेले आग्रह गर्नुभयो ।


फूल, प्रसाद बिक्री गर्नका लागि पशुपति क्षेत्रमा निर्माण गरिएका ६५ वटा पसल निर्माण भएकाले केहीलाई तत्काल त्यहाँ सार्न तथा बाँकी अपुगका लागि नयाँ पसल निर्माण गर्न समेत मन्त्री आलेले निर्देशन दिनु भएको छ । यसै गरी उहाँले पशुपति क्षेत्रमा रहेको क्रियापुत्री बस्ने भवनमा चौबीसै घण्टा शुद्ध तातो पानी, बिद्युतको व्यवस्था गर्न समेत निर्देशन दिनुभयो । सोही अवसरमा मन्त्री आलेले हवाई टिकटमा राखिँदै आएका मदिराका विज्ञापनलाई हटाएर अब नेपालका धार्मिक स्थल तथा पर्यटकीय स्थलका फोटो राख्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

सोही कार्यक्रममा सहभागी हुनु भएका नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पशुपतिनाथ क्षेत्रमा फुल प्रसाद बिक्री बितरण गर्ने व्यापरारीहरुले आपसी सहमतिमा आफू बस्ने ठाउँको व्यवस्थापनका लागि सहयोग गर्नुभयो आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन मन्त्री जीको पहलमा तपाईँहरूको व्यापार गर्ने ठाउँको व्यवस्था हुँदै छ, अनेकौँ बहाना गरेर बखेडा नगर्नुस्, आपसी सहमतिमा आफ्नो व्यापार गर्ने ठाउँ रोज्नुस् ।”