युक्रेन-रूस तनाव : युक्रेनमा रहेका नेपाली भन्छन् – ‘स्थिति सामान्य छ’

0
Shares

सरस्वती कर्माचार्य, काठमाडौं ।

युक्रेनमाथि रुसले फेब्रुअरी १६ अर्थात् आगामी बुधबार आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको दाबीसँगै अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासमा अत्यावश्यक काममा खटिएका कर्मचारीबाहेक सबै कर्मचारीलाई राजधानी किभ छाड्न आदेश दिइसकेको छ । त्यति मात्र होइन, अमेरिकाले आइतबारबाट कन्सुलर सेवा समेत बन्द गरी आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न आग्रह गरेको छ ।

अमेरिकी कदमसँगै क्यानडा, बेलायत, जर्मनी, अस्ट्रेलिया, इटाली, नेदरल्यान्ड्स, लात्भिया, जापान, इजरायल, इराक र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरिसकेको छ । युक्रेनको तनावबाट नेपाल पनि अछुतो छैन । युक्रेनमा चिकित्सा शास्त्र र इन्जिनियरिङ पढ्न गएका विद्यार्थीका साथै युरोप जाने चाहनामा युक्रेनमा पुगेका नेपालीको संख्या २ सयको हाराहारीमा भएको अनुमान गरिएको छ ।

त्यहाँ रहेका नेपालीहरूको संख्या र अवस्थाका बारेमा नेपाल समाचारपत्रले राखेको जिज्ञासामा मन्त्रालयले अहिलेसम्म एक सयभन्दा बढी नेपाली युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूताबासको सम्पर्कमा आएको जानकारी दिएको छ । तीमध्ये थोरै विद्यार्थी र धेरै युरोप जान ट्रान्जिटका रूपमा युक्रेन छिरेका नेपालीहरू रहेको मन्त्रालयले जनाएको छ ।

युक्रेनमा कथंकदाचित आक्रमण भइहालेमा ती नेपालीहरूको उद्धार गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयको तयारीका बारेमा सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भन्नुभयो–‘अहिलेसम्म त्यहाँ रहेका कुनै नेपालीले आपत् प¥यो भनेर दूताबाससँग सहयोग मागेको छैन । आवश्यक परे यसअघि संकटग्रस्त अफगानिस्तानबाट नेपालीको उद्धार गरिए झैँ त्यहाँबाट पनि नेपालीलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था गर्नेछौँ ।’ उहाँले युक्रेनको घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको बताउनुभयो ।

युक्रेनमै रहेका नेपालीहरूले पनि नेपाल समाचारपत्रसँगको कुराकानीमा आत्तिइहाल्नुपर्ने स्थिति नरहेको बताएका छन् । विगत ४३ वर्षदेखि युक्रेनमा बस्दै आएका एक नेपाली जयन्त नेपालले पश्चिमेली सञ्चारमाध्यमहरूले हल्ला फिँजाएको जस्तो स्थिति नरहेको बताउँदै भन्नुभयो–‘आत्तिनुपर्ने अवस्था छैन । स्थिति सामान्य नै छ ।’

उहाँका अनुसार युक्रेनको राजधानी किभलगायत विभिन्न सहरमा करिब ३० परिवार नेपाली बसोबास गरिरहेका छन् भने म्यान पावरबाट युक्रेन भित्रिएकाहरूको संख्या सयको हाराहारीमा छ । रुसले तत्काल युक्रेनमा आक्रमण गरिहाल्ने स्थिति नदेखिएको जिकिर गर्दै उहाँले भन्नुभयो–‘केही गरी आक्रमण भई नै हाले पनि युक्रेनको पूर्वी क्षेत्र डोनेत्सक र लुहान्स्कमा मात्रै हुनसक्छ ।’

सीमावर्ती क्षेत्रमा पर्ने डोनेत्सक र लुहान्स्कमा युक्रेनी सेना र रुससमर्थित पृथकतावादीबिच लडाई जारी रहेकोले रुसले त्यहाँ हस्तक्षेप गर्ने सम्भावना रहेको छ । सन् २०१४ मा रुसले युक्रेनको दक्षिणी टापु क्राइमियामा नियन्त्रण जमाएदेखि नै सीमावर्ती क्षेत्र डोनेत्सक र लुहान्स्कमा शुरु भएको लडाइँमा अहिलेसम्म कम्तिमा १४ हजारले ज्यान गुमाइसकेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले रुसले कुनै पनि बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने दाबी गरिरहेकै बेलामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीकले भने आफ्ना नागरिकलाई आक्रमणको हल्लाबाट आतङ्कित नहुन आग्रह गर्नुभएको छ । उहाँले आक्रमणको हल्लाले त्रास बढाइरहेको टिप्पणी गर्दै ‘तत्कालका लागि त्रास नै जनताको सबैभन्दा ठूलो शत्रु’ भएको बताउनुभएको छ ।

रुसले सन् २०२१ को अन्त्यदेखि युक्रेनको सीमामा बख्तर बन्द गाडी र हातहतियारसहित एक लाख सैनिक तैनाथ गरेपछि रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको चर्चा चुलिएको हो । त्यसमाथि गत बिहीबारदेखि बेला रुसमा क्षेप्यास्त्र र हवाई प्रतिरक्षा प्रणालीसहित ३० हजार रुसी सेना तथा विशेष फौज सम्मिलित १० दिने संयुक्त सैन्य अभ्यास शुरु भएपछि अमेरिकालगायत पश्चिमेली राष्ट्रहरू झनै चिन्तित बनेका छन् ।

यसैबीच युक्रेनको सुरक्षार्थ ३ हजार अमेरिकी सैनिक पोल्यान्ड पुगिसेको छ । रुसले भने आफ्नो सीमामा सैन्य तैनाथ गर्नु सामान्य भएको भन्दै यसलाई आक्रमणको तयारी भनेर अमेरिकालगायत पश्चिमी राष्ट्रहरूले आधारहीन आरोप लगाएको दाबी गर्दै आएको छ ।