यसरी सम्भव छ नेपालमै ग्रिन हाइड्रोजनबाट ‘युरिया’

0
Shares

काभ्रे ।

खाद्य, ऊर्जा सुरक्षा, ऊर्जा व्यवस्थापन तथा कार्बन उत्सर्जन न्यूनीकरणका लागि प्राविधिक रूपमा नेपालकै पानी र बिजुली प्रयोग गरी इलेक्ट्रिोलाईसिस विधिबाट रासायनिक मल उत्पादन सम्भव भएको निष्कर्ष निकालिएको छ ।

काठमाडौ विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरूले संस्थागत रूपमै तयार पारेको प्राविधिक प्रतिवेदनमा नेपालमा ग्रिन हाइड्रोजनको माध्यमबाट युरिया रासायनिक मल उत्पादन गर्न सम्भव भएको निष्कर्ष निकालेको हो । ‘नेपालमै बिजुलीको प्रयोगबाट र रासायनिक मल उत्पादन सम्भव छ’–काठमाडौं विश्वविद्यालय ग्रिन हाइड्रोजन ल्याबका संयोजक प्रो.डा. बिराज सिंह थापाले भन्नुभयो –‘बिजुलीको प्रयोग गरेर हाइड्रोजन उत्पादन गरी नेपालमा प्रयोग हुने पेट्रोलियम पदार्थ विस्थापन गर्ने, कार्बन उत्सर्जन न्यूनीकरण गर्दै रासायनिक मल उत्पादन सम्भव छ ।’ विश्वविद्यालयका तर्फबाट लगानी बोर्ड, ऊर्जा र कृषि मन्त्रालय तथा विद्युत् प्राधिकरणलाई नेपालमै विद्युत् महसुल सहुलियत उपलब्ध हुँदा रासायनिक मल उत्पादन सम्भव भएको कार्यपत्र प्रस्तुत गरिएको थियो । महँगो बिजुली हुँदासम्म तत्कालका लागि नेचुरल ग्याँस मार्फत सस्तो हुने भए पनि दीर्घकालीन रूपमा नेपालमै भएको जलश्रोत र विद्युत् उत्पादनको अवस्थाबाट त्यही प्रविधिमा जानु पर्ने विश्वविद्यालयका प्राध्यापकहरूको सुझाव छ । यो अभियानमा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा स्वयमको अग्रसरता छ ।

‘नेपालकै पानी र बिजुलीको प्रयोग गरी हाइड्रोजन ग्याँस उत्पादन गर्ने, सिमेन्ट तथा अन्य उद्योगबाट कार्बाइडाई अक्साईड क्यापचर गर्ने, वायुमण्डलबाट नाइट्रोजन क्यापचर गरी रासायनिक मल नेपालमै उत्पादन गर्नु राष्ट्रिय आवश्यकता हो’– काठमाडौ विश्वविद्यालयका प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामाले भन्नुभयो–‘रासायनिक मल जनताको खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको हुँदा यसको उत्पादन नेपाल सरकारले नै गर्नुपर्छ । न्याचुरल ग्याँस अन्य मुलुकबाट आयात गर्नुपर्ने हुँदा इलेक्ट्रोलाइसिस नेपालकै बिजुली र पानी प्रयोग गर्ने विधिबाट युरिया उत्पादन गर्न सम्भव छ र सकिन्छ ।’ डा. राम लामाले नेपालको बिजुली खपद गर्न, युरिया उत्पादनमा अन्य मुलुकसँग परनिर्भरता नहुन, खर्बौँ पैसा बाहिर देशमा पठाउन रोक्न, कार्बन उत्सर्जन घटाउन, रोजगारीको सुनिश्चितता गर्न, ईनर्जिमा आत्मनिर्भर हुँदै देशको अर्थतन्त्र बलियो बनाउन नेपालमा विद्युत्तको माध्यमबाट रासायनिक मल उत्पादन गर्न आवश्यक रहेको बताउनु भयो ।

नेपालमा बार्षिक १२ लाख मेट्रिक टन रासायनिक मल आवश्यक रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल सरकारले आवश्यक ठान्दा विश्वविद्यालय तर्फबाट प्राविधिक सहयोग उपलब्ध हुने स्कुल अफ इन्जिनियरिङ विभागका डिन डा. विजेश अधिकारीले बताउनु भयो । केमिकल इन्जिनियर तर्फका कोअर्डिनेटर डा. विवेक उप्रेतीले वर्षा याममा खेर गएको बिजुलीबाट हाइड्रोजन उत्पादन गरी रासायनिक मलका लागि आवश्यक पर्ने कच्चा पदार्थ तयार गर्न सकिने बताउनु भयो । रसायिनक मल उत्पादनका लागि सरकारले बर्सेनि उपलब्ध गराउने अनुदान रकम उद्योग स्थापनामा लगानी गर्ने हो भने पनि नेपालमा दिगो रूपमा रासायनिक मल उत्पादन सम्भव भएको प्राध्यापकहरूले बताएका छन् ।

नेपालबाट बिदेसिने पुँजी नेपालमै रहँदा रोजगार तथा नेपालको  वार्षिक आय वृद्धि हुँदै सम्भावना नै सम्भावनाको अवसर रहने प्राध्यापकहरूले बताएका छन् । नेपाल सरकार, राजनीतिक दल र सरोकारवाला निकायहरूलाई नेपालमै सम्भव भएको विद्युत्बाट रासायनिक मल उत्पादन गर्ने प्रविधि प्रयोगमा ल्याउन र त्यस सम्बन्धी थप अध्ययन गर्न अनुरोध गरिएको छ । सरकारले निर्णय गरी कार्यान्वयन शुरु गरेको डेढ वर्षमा रासायनिक मल उत्पादन सम्भव भएको डा. बिराज सिंह थापाले बताउनु भयो ।