शिल्पालाई अदालतको आदेश


बलिउड अभिनेत्री शिल्पा शेट्ठी फेरि एकपटक कानुनी झमेला फसेकी छिन्। एक व्यक्तिसँग लिएको ऋण चुक्ता नगरेको विषयमा शिल्पा, उनकी बहिनी शमिता तथा आमा सुनन्दाविरुद्ध परेको उजुरीको आधारमा अदालतले उनलाई २८ फेब्रुअरीमा अदालतमा उपस्थित हुन आदेश दिएको छ।

दैनिक भाष्करको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार केही वर्षअघि शिल्पाका पिता सुरेन्द्रले मुम्बईमा बस्ने एक व्यापारीसँग २१ लाख भारतीय रुपियाँ ऋण लिएका थिए र ऋण तिर्नुअघि नै उनको निधन भएको थियो। पिताको निधन भएपछि ती व्यक्तिले उक्त ऋण शिल्पा तथा उनको परिवारले चुक्ता गर्नुपर्ने माग राख्दै आए पनि उनीहरूले ऋण तिर्न अस्वीकार गरेपछि उनले उनीहरूविरुद्ध मुद्दा दायर गरेका हुन्। कानुनी लफडामा फसेको यो शिल्पाको पहिलो घटना भने होइन।

यसअघि, पनि सन् २००६ मा एक तामिल समाचारपत्रका लागि निकै अश्लील फोटोसुट गराएको आरोपमा मदुराई अदालतले उनीविरुद्ध वारेन्ट जारी गरेको थियो। त्यस्तै, सन् २००७ मा हलिउड अभिनेता रिचर्ड गेरेका साथ चुम्बन गरेपछि सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोपमा मुद्दा खेप्नु परेको थियो। त्यसैगरी, सन् २०२१ पछि पति राज कुन्द्रासहित उनीमाथि विभिन्न आरोप तथा उजुरी पर्दै आएको छ।