‘दोहोरिन्न’ भन्ने जनप्रतिनिधि भेटिएनन्

0
Shares

बाँके ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने तय भएको छ । निर्वाचनको मिति घोषणासँगै स्थानीय तहमा ‘उम्मेदवार’को कसरत शुरू भएको छ । नेपालगन्ज उपमहानगरपालिकामा २३ वटा वडा छन् । जहाँ ‘दोहोरिन्न’ भन्ने वडाध्यक्ष भेटिएका छैनन् ।

एक÷दुई जना दोधारमा छन् । अधिकांशले फेरि वडाध्यक्ष दोहोरिने इच्छा देखाएका छन् । दोहोरिनका लागि पार्टीमा लबिङ शुरु गरिसकेका छन् । ‘मैले पाँच वर्षमा धेरै राम्रो काम गरेको छु । पार्टीले टिकट दिनुपर्यो, जित सुनिश्चित छ ।’ –सबैजसो वडाध्यक्षले भन्ने गरेका छन् । ‘तपाईं फेरि दोहोरिने हो कि माथिल्लो पदमा निर्वाचन लड्ने हो’ भन्दा अधिकांशले फेरि दोहोरिने प्रतिक्रिया दिएका हुन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले सबैजसो जनप्रतिनिधिले फेरि दोहोरिने इच्छा देखाएको बताउनुभयो ।

यो नेपालगन्जको मात्रै होइन, जिल्लाका आठवटा पालिकाका ८१ वटै वडाको समस्या हो भन्दा हुन्छ । एकपटक जनप्रतिनिधि भइसकेपछि अर्कोलाई ‘पालो’ दिनुपर्छ भन्ने त्याग कसैमा देखिँदैन । ‘जसरी पनि आफैं हुनुपर्छ’ भन्ने नेताहरुको सोचाइ रहेको देखिन्छ ।

बाँकेमा एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको छ । केही ठाउँमा उपाध्यक्षले अध्यक्षका लागि प्रयास गर्नुबाहेक माथिल्लो तहमा ठाउँ नपाउँदासम्म भएकै पदमा दोहोरिने नेताहरुको जिद्दीपना देखिन्छ । खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले सामाजिक सञ्जालमार्फत आफू अध्यक्षको दाबेदार रहेको सार्वजनिक गर्नुभयो । उहाँको स्टाटस लामो समयसम्म टिकेन, डिलिट भइहाल्यो । निर्वाचनको मिति घोषणापछि पार्टी र नेताहरु सलबलाउन थालेका छन् । आ–आफ्नो इच्छाअनुसार तलदेखि माथिसम्मको लबिङ शुरु भइसकेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी फोरमबाट नाम बाहिर आउन थालिसकेको छ । नेपालगन्जमा अहिले राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा मेयर छन् । डा. राणाले संघमा चुनाव लड्ने इच्छा देखाउनुभएको छ । नेपालगन्ज उपमहानगरपालिकाका लागि डा. राणाको उत्तराधिकारी प्रस्ट भइसकेको छैन ।
राजनीतिक विश्लेषक प्राडा जनार्दन आचार्यले राजनीति सेवाभावभन्दा पनि कमाउधन्दामा परिणत भएकाले कसैले पनि सजिलै पालो नदिने गरेको बताउनुभयो । ‘पहिला राजनीतिलाई सेवाभावका रूपमा लिइन्थ्यो । जनप्रतिनिधि दोहोरिन झ्याउलो मान्थे । अहिले राजनीति आकर्षक पेसा भएको छ । तलब सुविधा आउँछ’, प्राडा आचार्यले भन्नुभयो– ‘सजिलै ‘तर’ खान पाइने भएपछि कसले छोड्दो हो र ?’

एउटा वडामा करोड बढीको बजेट जाने गर्दछ । प्रदेश र संघमा पहुँच बढाउन सक्ने वडाध्यक्षले त्यहाँबाट पनि ठूल्ठूला योजना पार्न सक्छ । जति ठूलो योजना प¥यो, त्यति नै ठूलो रकम खेलाउन पाउँछ । स्थानीय तहको ‘जनप्रतिनिधि’ नै आकर्षित पद हुँदा जुनसुकै पार्टीमा मरिहत्ते गर्नेको लाइन नै देखिन्छ । यहाँका पार्टी कार्यालयहरुमा त्यस्ता आकांक्षीको भीड देखिन थालिसकेको छ । कसलाई समातेपछि आफ्नो उम्मेदवारी पक्का हुन्छ भन्नेमा आकांक्षीहरु लागिसकेका छन् ।