गण्डकी प्रदेशका खेलाडीको पीडा

0
Shares

पोखरा ।

गण्डकी प्रदेशको आफ्नै टिम भनेको पुरुष भलिबल मात्रै हो । त्यो पनि यताउताबाट बटुलेर बनाएको टिम हो । पुसमा ३ प्रतियोगिता भए, बागलुङको ढोरपाटनमा र स्याङजामा स्थानीय प्रतियोगिता तथा पोखरामा राष्ट्रियस्तरको प्रतियोगिता । खेलाडी विभाजित भए । गण्डकीबाट खेल्ने भनेर आएका चर्चित खेलाडीले प्रदेशको टिमलाई छाडेर स्थानीय खेल खेल्न पुगे । उनीहरूलाई थाहा थियो कि प्रदेशबाट खेल्दा दुई कुरा हुन्छ भनेर । एक विभिन्न स्थानीय प्रतियोगिता खेल्न नपाउने, अर्को भत्ता नपाउने । प्रदेशको जर्सी लगाएर आफ्नो भविष्य बर्बाद पार्नुभन्दा स्थानीय खेलमै रमाउन त्यसतर्फ लागे ।

अर्कोतर्फ, अघिल्लोपटक प्रदेशबाट खेलिसकेका खेलाडी । अहो ! प्रदेशबाट खेलेको क्या ! शान भत्ता त राम्रै होला सबैले सोच्ने नै यही हो । विडम्बना प्रदेशबाट खेल्ने खेलाडीको भन्दा स्थानीय खेल खेल्ने खेलाडीको भत्ता राम्रो हुन्छ । उनीहरूले सोचे अनुरूपकै रकम पाउँछन् । गत वर्ष भएको प्रथम टाइगर कपको विजेता बनेका खेलाडीले प्राप्त पुरस्कार राशी बाँडेर लिए । यति मात्र होइन प्रदेश सरकारले पनि रात्रि भोज नै खुवाए । उपाधि जितेको खुसीयालीमा प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने ‘यो टिमलाई कहीं नपठाउनु यिनीहरूका लागि व्यवस्था प्रदेश सरकारले गर्छ’

तर, गुरुङ नेतृत्वको सरकार ढलेसँगै प्रदेश भलिबल टिमको सपना पनि ढल्यो । एक महिनासम्म प्रदेशका लागि बन्द सत्रमा बसेर खेलेका उनीहरूले गाडी भाडाबाहेक केही पाएनन् । पृथ्वीचोकको पञ्चामृत होटलमा पुस ५ गतेदेखि २५ गतेसम्म बसेका उनीहरूको बिल २ लाख ८३ हजार पाँच सय रुपैयाँ निस्कियो । प्रतिखेलाडी खाएको र बसेको दैनिक ९ सय नगद होटललाई बुझाउनुपर्छ ।

गण्डकी प्रदेशका लिफ्टर राजन दर्लामी मगर असोजमा काठमाडौंमा भएको एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा हेल्प नेपालबाट खेल्दा ३० हजार रुपैयाँ पाए । अघिल्लो वर्ष भएको प्रथम टाइगर कपमा उनले २३ हजार रुपैयाँ पाए, त्यो पनि विजेता भएकै कारणले । तर, दोस्रो संस्करणको टाइगर कपमा प्रदेशको प्रतिनिधित्व गरेर एक महिनादेखि बन्द प्रशिक्षणमा रहँदै प्रदेशका लागि खेल्दै गर्दा खेलाडीले कुनै रकम पाएनन् । पाए त केवल गाडीभाडा त्यो नि आयोजकले चौथो हुँदा दिएको ३५ हजारलाई भाग लगाएर ।

प्रदेश सरकारले खेलकुद प्रतियोगिता हुँदा लाखौं रुपैयाँ सहयोग गर्न सक्ने तर प्रदेशको नेतृत्व गर्ने खेलाडीलाई भने सुको रकम दिइएको छैन । बरु सामान्य एउटा स्थानीय प्रतियोगिता खेल्दा नै उनीहरुले प्रतिखेल २ हजारदेखि ५ हजारसम्म पाउने गरेका छन् । त्यसैले, त गण्डकीका प्रतिभावान् खेलाडीमध्येका प्रकाश सुनार, कमल सुनार, विमल परियार, अशोक श्रेष्ठ र दीपक मल्लजस्ता खेलाडी प्रदेशबाट खेल्न आएनन् ।

गण्डकी प्रदेशका कप्तान हरि पाण्डेले बारम्बार खेलाडीको भत्ताका बारेमा कुरा गर्दा टिमका व्यवस्थापकदेखि संघका पदाधिकारीहरूले शुरू शुरूमा फोन उठाउने गरे पनि अहिले भने फोन उठाउनै छाडेका बताए । खेलाडी भत्ता पाउने आशमा रहेको र बारम्बार फोन गरेर कहिले आउँछ भन्दै सोध्ने गरेको पाण्डेले सुनाए । गण्डकीका प्रभावशाली ओपन स्पाइकर घनश्याम चौधरीले प्रदेशबाट खेल्दा भन्दा बाहिरबाट खेल्दा नै आम्दानी हुँदै आएको बताए । उनले असोज कै एनभीए कपमा हेल्प नेपालबाट खेल्दा २५ हजार रुपैयाँ पाएको सुनाए । उनले प्रदेशले दिएर पनि खेलाडीले नपाएको वा साँच्चिकै प्रदेशले नै नदिएको शंका लागेको बताए ।

राखेपका एक कर्मचारीले प्रदेश खेलकुदले खेलाडीको संरक्षण गर्न नसकेको गुनासो गरे । उनले खेलाडीप्रति जिम्मेवार नबनेका कारण नै समस्या आउने गरेको सुनाए । ‘प्रदेशको टिम हुन पर्छ भनेर हामी भन्छौं । खेल्ने बेलामा प्रदेशको टिम नहुँदा लाजमर्दो हुन्छ भनेर प्रदेश बनायौं, तर खेलाडीलाई भत्ता दिने पारिश्रमिक दिने कुनै सम्भावना नै देखिएन’ उता प्रदेशको टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका जिवन भण्डारीले प्रदेशबाट खेल्ने खेलाडी मात्र नभई उनीहरूले बन्द सत्रमा बस्दाको समयको समेत रकम नपाएको बताए । उनले प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी निकै पीडामा रहेको बताए । खेलाडी एक महिनासम्म बन्दसत्रमा बसेर खेल खेलेर फर्किंदाँ गाडीभाडासमेत दिने अवस्था थिएन् । धन्न केटाहरू सेमिफाइनलसम्म पुगेका थिए र गाडीभाडा मात्र भए पनि बन्यो’ उनले भने, नत्र त खाली हात फर्किनु बाहेकको विकल्प नै छैन ।