चाउचाउ उद्योगमा लागेको आगो अझै पूर्ण नियन्त्रणमा आएन

0
Shares

न्युज अफ नेपाल, झापा ।

झापाको मेचीनगरस्थित एक चाउचाउ उद्योगमा लागेको आगो १३ घण्टामा पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । मेचीनगर(१४ दुहागढीस्थित मनसा फुडको मगमग चाउचाउमा बिहान साढे ४ बजेदेखि लागेको आगो आंशिक रूपमा नियन्त्रणमा आए पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।

झापा, मोरङ, सुनसरी र इलामका १५ वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निमन्त्रणको प्रयास गरिरहेको छ । अन्यत्र आगो सर्ने खतरा नभएको र लगभग नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए । ‘आगो पूर्णरुपमा नियन्त्रणमा आएको छैन । भित्र सामानमा बलिरहेको छ । नियन्त्रणको प्रयास भइरहेको छ । बाहिर फैलिएर जाने खतरा छैन,’ उनले भने, ‘अब केही घण्टाभित्र नियन्त्रण होला ।’

विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए । आगलागी पूणरुपमा नियन्त्रणमा नआएकाले क्षतिको विवरण संकलन गरी नसकिएको उनले बताए । ‘सञ्चालकले एक अर्ब बढी लगानी भएको बताउनुभएको छ । तर, हामीले फिल्डमा हेरेर विवरण संकलन गर्नुपर्छ अनि मात्र यकिन विवरण आउँछ,’ उनले भने ।