नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना

0
Shares

काठमाडौँ।

नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।

दुवै राजदूतले राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नेपाली नियोगले शनिबार जनाएको छ ।

त्यस अवसरमा दुवै देशका राजदूतले राष्ट्रिय तथा बुहपक्षीय परिवेशमा विशेषगरी राष्ट्रसङ्घीय मञ्चहरूमा साझा हितका विभिन्न विषयमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउने विषयमा विचार आदान–प्रदान गरेका छन् ।

प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे दक्षिणपूर्व एशियामा अवस्थित १५ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको देश हो । तेह्र लाख ७० हजार जनसङ्ख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसङ्घको १९१ औँ सदस्यको रुपमा प्रवेश पाएको हो । नेपाल र टिमोर–लेस्टे असंलग्न आन्दोलनका सदस्य हुन् । रासस