अत्तरिया आएको तीन हप्ता नपुग्दै ट्राफिक एसपी धितालको रकम असुली धन्दा शुरू

0
Shares

हेमन्त पौडेल, धनगढी।

एक वर्षमा दुई करोड रुपैयाँ कमाउने लक्ष्य बनाएर क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियामा दुई साता अघि मात्र सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक प्रवीण धितालले रकम असुलीको काम शुरु गर्नुभएको छ । माघ १० गते ट्राफिकको सुदूरपश्चिमको कमान्ड समाल्नुभएका धितालले यसै सातादेखि मातहतका युनिटबाट रकम बुझ्न शुरु गरिसक्नुभएको छ ।

क्षेत्रीय ट्राफिकको जिम्मेवारी समालेपछि यस क्षेत्रको ट्राफिक व्यवस्थापनलाई कसरी सुधार गर्न सकिन्छ र दुर्घटना न्यूनीकरणका बारेमा के गर्न सकिएला भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुको साटो एसपी धितालले आफ्ना मातहतको युनिटहरू प्रयोग गरेर रकम उठाउन शुरु गरिसक्नुभएको छ ।

शेयरमा लगानी गरेर दुई करोड रुपैंया डुबेकाले आफू रकम असुल गर्न आएको बताउँदै मातहतका युनिट इन्चार्जहरूलाई आफूले तोकेको रकम समयमा बुझाउन ताकेता गर्नुभएको छ । ‘जे जसरी हुन्छ पैसा उठाऊ र समयमा मलाई पैसा बुझाऊ’ भन्ने उर्दी नै एसपी धितालले जारी गरेको समाचार स्रोतको दाबी छ ।

समाचार स्रोतका अनुसार ट्राफिक प्रहरी कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीले एसपी धिताललाई मासिक ५० हजारका दरले बुझाउनुपर्ने छ भने कैलालीकै लम्की, टीकापुर, सुखड र गोदावरी पोष्टले मासिक ३० हजारका दरले, यस्तै मसुरिया,चौमाला,खुटिया,पहलमानपुर, गेटा, सत्ता, चिसापानी , फूलबारीबाट मासिक १० हजारको दर कञ्चनपुरको गुलरिया, कलुवापुर,दैवी,बेलडाडी, बेलौरी, पुनर्वास,दोधारा र डोके बजारका पोष्टहरुले मासिक १० हजारका दरले रकम बुझाउनुपर्ने उर्दी नै जारी भएको छ ।

भने कैलालीको मध्य क्षेत्र जोशीपुरले बाह्र हजार र भजनीले १० हजार, खानडाँडा,फलटुडे,राजपुर र डोटीको बुडरका पोष्टले मासिक ५ हजारका दरले रकम बुझाउनुपर्ने छ । अन्य क्षेत्र छोडेर पोष्टहरुले मात्र एसपी धिताललाई मासिक करिब ५ लाख बाइस हजार बुझाउनुपर्ने लिस्ट तयार भएको छ । स्टाफ बैठकको नाम दिएर हरेक महिनामा रकम असुल गर्ने योजना बनेको छ ।

यस्तै, एसपी धितालले ट्राफिक युनिटहरूको व्रिफिंग लिँदै अघिल्लो एसपीको पालामा भन्दा आफूलाई रकम बढाएर दिन दबाब दिएकाले सडकमा गुड्ने सवारी साधनहरू समस्यामा परेका छन् । युनिट इन्चार्जले एसपीको आदेश पालना गर्दै महिनावारी बाँधिएका ट्रयाक्टरहरुबाट मासिक दुई हजारका दरले बुझाउनुपर्ने बाध्यता भएको छ ।

यसअघि मासिक एक हजार बुझाउँदै आएका ट्र्याक्टर ब्यावसायीहरुले ट्राफिक एसपी धिताल आएपछि मासिक दुई हजार बुझाउनुपर्ने बाध्यता भएको छ । ट्राफिकले तोकेको रकम नबुझाएमा काम गर्न कठिनाइ हुने भएकोले बाध्य  भएर बुझाउनुपर्ने अवस्था आएको एक जना व्यवसायीले बताएका छन् । पैसा नबुझाएमा विभिन्न बाहानमा दुःख दिने भएकाले उनीहरूको आदेश पालना गर्नुबाहेक अर्को विकल्प नभएको उनीहरूको गुनासो छ ।

भीमदत्त राजमार्गमा लागू गरिएको टाइम कार्ड पनि ट्राफिकको कमाई खाने माध्यम बनेको छ । तत्कालीन एसपी वीरेन्द्र बस्यालको पालामा लागू गरिएको टाइम कार्डको व्यवस्था पछिल्लो समयमा पैसा उठाउने माध्यम बनेको छ । टाइम कार्डमा तोकेको समय भन्दा अगावै गन्तव्यमा पुगे जरिवाना हुने व्यवस्था छ तर यातायात व्यवसायीहरुले ट्राफिकलाई पैसा दिएर टाइम कार्डको समय मिलाउने गरेको गुनासो आउने गरेको छ । हाल त्यसको जिम्मेवारी गोदावरीमा रहेको ट्राफिक पोष्टले गरेको छ । यस्तै एसपी धितालको बारेमा उठेको प्रश्नको बारेमा जानकारी दिन बारम्बार सम्पर्क गर्दा पनि उहाँ सम्पर्कमा आउनु भएन ।