माघ ।
आउँदो फागुन ८ गतदेखि इलाम–काठमाडौं नियमित उडान–अवतरणको तयारीमा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्विनअटर विमानले बुधबार परीक्षण उडान गरेको हो । पहाडी इलाकामा निर्मित सबैभन्दा कान्छो फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा काठमाडौंबाट ५५ मिनेटमा जहाज विमानस्थलमा अवतरण गरेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनले बताउनुभयो ।
जहाज बिहान १० बजे विमानस्थलमा अवतरण भएको थियो । इलाम नगरपालिका–९ मा नवनिर्मित विमानस्थलमा व्यावसायिक उडान शुरू हुनुअघि परीक्षण उडान गरिएको हो । यसअघि विमानस्थल कच्ची नै रहेका बेला २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो । त्यसबेला काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्विनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण भएको थियो । कालोपत्रे भएपछि विमानस्थलमा पहिलोपटक विमान आएको हो । यो विमानस्थल आउँदो फागुन १ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अब आउँदो फागुन ८ देखि इलाम–काठमाडौं नियमित उडान–अवतरण हुनेछ । प्रत्येक आइतबार इलाम–काठमाडौं उडान–अवतरण हुनेछ । इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिकलगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाले तारा एयर प्रालिसँग उडानका लागि सम्झौता गरिसकेको बताउनुभयो । तारा एयरको १६ यात्रु क्षमताको जहाज यहाँबाट चल्नेछ । इलाम–काठमाडौं एकतर्फी भाडा ८ हजार ७ सय रूपियाँ तोकिएको छ । सम्झौताअनुसार ११ जनाभन्दा कम यात्रु भएमा बाँकी यात्रुको भाडा इलाम नगरपालिकाले ब्यहोर्ने छ ।
विमानस्थल निर्माणमा स्थानीयस्तरको करिब ४ करोड रूपियाँ लगानी रहेको छ । विमानस्थलको ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रूपियाँ खर्च भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले बताउनुभयो । विमानस्थलमा धावनमार्ग कालोपत्रे, मार्किङ, प्रिन्टिङलगायतका काम पूरा भएको छ भने टर्मिनल भवनलगायतका केही संरचना बन्न बाँकी रहेको छ । विमानस्थल सञ्चालन भएपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन् ।
३ सय २८ रोपनीमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया शुरू भए पनि २०६७ चैत १३ मा शिलान्यास गरिएको थियो । तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो । जिल्लाबासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रूपियाँसम्म चन्दा संकलन गरिएको थियो । ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रूपियाँ खर्च भएको थियो ।
प्रतिक्रिया