पोखराबाट कञ्चनपुर हिँडेका भानसिंह कपिलवस्तुबाट सम्पर्कविहीन

खोजी गरिदिन परिवारको आग्रह

14
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

पोखराबाट कञ्चनपुर हिँडेका एक पुरुष कपिलवस्तुबाट सम्पर्कविहीन भएका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका १० दैजीका ४५ वर्षीय भानसिंह कडायत शुक्रबार (माघ २१ गते) बिहान ११ः३० बजेदेखि कपिलवस्तु नगरपालिका-९ जगदीशपुरबाट सम्पर्क विहीन भएका हुन् ।

माघ २० गते पोखराबाट कञ्चनपुर हिँडेका कडायत कपिलवस्तुबाट सम्पर्कविहीन बनेको उनका छोरा रमेश कडायतले न्युज अफ नेपाललाई जानकारी दिए  ।  उनले भने, ‘पोखराबाट २० गते साँझ गाडी चढेँ भनेर बुबाले फोन गर्नुभएको थियो । २१ गते बिहानबाट सम्पर्कमा हुनुहुन्न । प्रहरीमार्फत अन्तिम लोकेसन चेक गर्दा कपिलवस्तु नगरपालिका-९ जगदीशपुर देखाएको छ । तर यहाँ  आएर सबैतिर बुझ्दा केही अत्तोपत्तो छैन ।’

म्याग्दीबाट पोखरा हुँदै कञ्चनपुर हिँड्ने बेला भानसिंहले आफूसँग दुई हजार रुपैयाँ मात्र छ भन्दै फोन गरेको रमेशले बताए । गाडीमा चढेको बेला सहचालक वा कुनै यात्रुसँग लफडा परेर बाटोमै छाडेको हुन सक्ने परिवारको आशंका  छ ।

‘बुवासँग पैसा २ हजार मात्र रहेछ, पोखराबाट कञ्चनपुरको गाडी भाडा नै धेरै छ । कतै लफडा परेर बसले बाटोमै अलपत्र छाडेको पो हो कि ?’, रमेशले भने ।  अन्दाजी  साढे ५ फिट उचाइ भएका भानसिंहले रातो टिसर्ट, कालो पाइन्ट, खैरो रंगको जुत्ता, सेतो क्याप र कालो रंगको ज्याकेट लगाएका थिए । लगातार प्रहरी र आफन्तले खोजी गर्दा पनि उनी सम्पर्कमा आएका छैनन् ।

भानसिंहको खोजीमा लागेको कपिलवस्तु प्रहरीले हालसम्म फेला पर्न नसकेको जनाएको छ । कडायतलाई फेला पार्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा उनका छोरा रमेशको फोन नम्बर ९८६३४०२४०८, ९८६८७७५६०८ र ९७४५४५०५३५ मा सम्पर्क गरी सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।