निधनअघि राम थापाले संगीत भरेको छातीभरि तिम्रै माया (भिडियोसहित)

0
Shares

१३ वर्षअघि लोकप्रिय गायक तथा संगीतकार स्व. राम थापाको संगीत र रमा कार्कीको शब्द रचनामा रेकर्ड भएको गीत छातीभरि तिम्रै मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सिमसिमे पानीमा गायिका रेखा शाहले आफ्नो जन्मदिनको अवसर पारेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

१३ वर्षअघि राम थापा अस्वस्थ रहेकै बेला उनको संगीतमा शाहले आफ्नो एल्बमका लागि यो गीत गाएकी थिइन्। गीत रेकर्ड भएको केही समयपछि थापाको देहावसान भएको थियो।

‘राम दाइका धेरै गीतमा कोरस गायन गरे पनि एउटा गीत भने गाउने अवसर मैले प्राप्त गरेकी थिएँ, उहाँ मेरो संगीत गुरु पनि हुनुहुन्छ’ शाहले भनिन् ‘त्यतिबेला उहाँको संगीतमा मैले गाएको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुँ।’ प्रेमदिवसको सन्दर्भ पारेर सार्वजनिक गरिएको प्रेमभावको गीतको म्युजिक भिडियोमा गायिका शाहले नै अभिनय गरेकी छिन्।

फणिन्द्र राईको संगीत संयोजन रहेको गीतको भिडियोमा रूपेश थापाको छायांकन र निर्देशन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ। आधुनिक शैलीको यो गीतलाई फरक परिवेशमा पनि यसको मेलोडीका कारण दर्शक– स्रोताले मन पराउने विश्वास लिएको गायिका शाहले बताइन्। रेखा शाह फाउन्डेसनले निर्माण गरेको भिडियो उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।