ओस्कारको मनोनयमा ‘द पावर अफ द डग’ सर्वाधिक १२ विधामा

0
Shares

विश्व प्रसिद्ध फिल्म अवार्ड ओस्कार अवार्डको यस वर्षको मनोनयन सार्वजनिक गरिएको छ। आगामी मार्च २७ मा अमेरिकाको लस एन्जलसमा हुने ९४औँ संस्करणको अवार्डको मनोनयनको घोषणाले फिल्मप्रेमीमाझ उत्साह थपिएको छ। सदाझैँ ओस्कारका सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता अभिनेत्रीजस्ता महत्वपूर्ण विधाको मनोनयनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। मंगलबार सार्वजनिक गरिएको मनोनयनअनुसार फिल्म विधामा द पावर अफ द डग सर्वाधिक १२ विधाको मनोनयनमा परेको छ भने फिल्म ड्युन १० विधाको मनोनयनमा परेको छ। त्यस्तै, फिल्म वेस्ट साइड स्टोरी र बेल फास्ट सात सात विधाको मनोनयनमा परेका छन्।

सर्वोत्कृष्ट फिल्मको मनोनयनमा बेलफास्ट, कोडा, डोन्ट लुक अप, ड्राइभ माई कार, ड्युन, किङ रिचर्ड, लिकोरस पिज्जा, नाइटमेएर ऐले, पावर अफ दी डग र वेस्ट साइड स्टोरी गरी कुल १० फिल्म प्रतिस्पर्धामा भिड्दै छन् भने निर्देशकको मनोनयनमा फिल्म लिकोरिस पिज्जाबाट पल थमस एडर्सन, बेलफास्टबाट केनेथ ब्रघान, द पावर अफ द डगबाट जेन क्याम्पियन, वेस्ट साइड स्टोरीबाट स्टिवन स्पिलबर्ग र ड्राइव माई कारबाट रुसुके हमागुची मनोनयनमा परेका छन्। त्यस्तै, सर्वोत्कृष्ट अभिनेताको मनोनयनमा फिल्म टिक टिक बुमबाट एन्ड्रयु गारफिल्ड, किङ रिचर्डबाट विल स्मिथ, द पावर अफ द डगबाट बेनेडिक्ट कम्बरब्याच, द ट्रेजेडी अफ म्याकबेथबाट डेजल वासिङटन तथा बिइङ द रिकार्डसबाट नेविएर बार्डेम तथा अभिनेत्रीको मनोनयनमा फिल्म द आइस अफ टेमी फायबाट जेसिका च्यास्टन, द लास्ट डटरबाट ओलिविया क्यामलेन, प्यारलल मदरबाट पेनेलोपे क्रुज तथा स्पेन्सरबाट क्रिस्टन स्टिवार्ड मनोनयनमा परेका छन्।

यसपटक उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा पावो छोएनिङ दोर्जीको निर्देशन रहेको भुटानी फिल्म अ याक इन द क्लास रुम पर्न सफल भएको छ। ओस्कारको कुनै पनि विधामा मनोनयनमा परेको यो पहिलो भुटानी फिल्म हो। योसँगै यस विधामा जापानको ड्राइभ माई कार, इटालीको द ह्यान्ड गड, डेनमार्कको फ्ली र नर्वेको द वस्र्ट पर्सन ईन द वल्र्ड मनोनयनमा परेका छन्। अन्र्तराष्ट्रिय फिचर फिल्मको दाबेदार देशहरूमध्ये नर्वे मात्र एक त्यस्तो देश हो जुन कयौँ पटक ओस्कारको विभिन्न विधाको मनोनयनमा परे पनि अहिलेसम्म एउटा पनि ओस्कार जित्न सकेको छैन।

संसारभरका हजारौं सेलिब्रेटीको सहभागिता रहने अवार्ड समारोहमा अवार्डको साथै रेड कार्पेट समारोहको विशेष महत्व तथा चर्चा हुने गर्दछ। सन् १९६१ मा भएको ३३औं ओस्कार अवार्ड समारोहमा पहिलोपटक फिल्मी समारोहमा रेड कार्पेटको शुरुवात गरिएको थियो। स्यान्टा मोनिका अडिटोरियमको भित्री स्थानमा फिल्म स्टारका लागि रेड कार्पेट बिच्छ्याउने गरिए पनि त्यसको तीन वर्षपछि ओस्कार अवार्ड टेलिभिजनमा प्रसारण गर्ने आयोजकले फिल्म स्टारहरूलाई अवार्ड समारोहमा प्रवेश गर्दै गरेको दृश्य देखाउने निर्णय गरेपछि बाहिरदेखि नै रेड कार्पेट बिच्छ्याएर सेलिब्रेटीको स्वागत गर्ने चलन शुरु भएको थियो।

त्यतिबेलादेखि नै आफ्नो शानदार गाडीबाट ओर्लिएर क्यामरा तथा सहभागीबीच आफ्नो फरक शैलीको पहिरन देखाउन शुरु भएको चलन हाल संसारभरका अन्य अवार्ड समारोहको पनि आकर्षक पक्षको रूपमा निरन्तर अघि बढिरहेको छ। त्यसअघि, युद्धबाट फर्किएका सेनालाई उनीहरूका पत्नीले रेड कार्पेट ओच्छयाएर स्वागत गर्ने चलन थियो भने त्यसपछि राजनैतिक व्यक्तित्व र ठूला ओहोदाका लागि मात्र रेड कार्पेटमा स्वागत गर्ने चलन थियो। ओस्कार त्यस्तो मञ्च हो, जहाँ संसारभरका सेलिब्रेटीहरू विभिन्न डिजाइनरले तयार गरेको विविध खालका पहिरन लगाएर सहभागी हुन्छन् र उनीहरूले लगाएका पहिरन, स्टाइल र फेसनको चर्चा लामो समयसम्म हुने गर्दछ। ओस्कार अवार्डको रेड कार्पेट १५ हजार ६ सय वर्ग फिटको क्षेत्रफलमा ६० हजार फूल र ट्रफीको डमीले सजाइन्छ।