हिउँले तान्दै पर्यटक, पर्यटक आउँदा चहल पहल बढ्यो

0
Shares

विमल विष्ट, डोटी ।

डोटी सहित समग्र सुदूरपश्चिममा गएको बिहीबार रातीदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडा काँडा सेताम्मे भएका छन् । हिउँले सेताम्मे भएका यहाँका डाँडा काँडामा हिउँ खेल्नकै लागि आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ ।

यहाँको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबै भन्दा बढी हिमपात भएपछि अहिले त्यहाँ सरकारी कर्मचारीदेखि आन्तरिक पर्उटकहरु दिनहुँ हिउँ खेल्नमा रमाउने गरेका छन् । बग्लेकमा सातवर्ष यताकै ठूलो हिउँ यो वर्ष परेकाले पनि यहाँ हिउँ खेल्नकै लागि पर्यटकहरुको घुइँचो बढेको स्थानीयवासीहरु बताउँछन् ।

जिल्लामा कोरोना जोखिम कायमै रहेको र सार्वजनिक ठाउँहरुमा बढी भिडभाड नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरेपनि हिउँ खेल्नका लागि दैनिक सयौँ नागरिकहरु बग्लेक पुग्ने गरेको स्थानीयवासी भरतबहादुर साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँले डाँडा काँडा र रुखहरु सेताम्मे भएका छन्, कोरोनाको बेवास्ता गर्दै स्थानीयवासी दैनिक हिउँ खेल्न आउने गरेका छन् ।”

हिउँ खेल्नका लागि बग्लेकमा दिनहुँ आन्तरिक पर्यटकहरु भित्रिन थालेपछि यहाँको व्यापार व्यवसायपनि फष्टाएको उहाँको भनाइ छ । हिउँ खेल्न आउने आन्तरिक पर्यटकहरुका कारण यहाँको चहल पनि निकै बढेको अर्का स्थानीय धनबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बग्लेकलाई मिनी खप्तडका रुपमा पनि चिनिदै आएको थियो, अहिले हिउँ परेपछि आन्तरिक पर्यटक आउन थालेका कारण यहाँको चहल पहल झनै बढेको छ ।”

हिउँमा टिकटक बनाउनेदेखि हिउँमा दिनभरी चिप्लेटी खेल्ने पर्यटकका कारण अहिले बग्लेकमा चहल पहल एका एक बढ्दै गएको छ । जिल्ला सदरमुकाम सिलगढीबाट करिब ३० मिनेटको गाडी यात्रामा पुगिने भएकाले पनि बग्लेकमा अहिले हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको लडबुद्ध होटेल सिलगढीका सञ्चालक शिद्धराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाडीको यात्रामा बग्लेक नजिकै छ, त्यसैमा झन यो वर्ष उल्लेख्य मात्रामा हिउँ परेपछि उक्त क्षेत्र पर्यटकको प्रमुख रोजाइँमा परेको हो ।” शुक्रबारदेखि उक्त क्षेत्रमा कम्तीमा पनि तीनहजार जना आन्तरिक पर्यटकहरु हिउँ खेल्नका लागि त्यहाँ पुगेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोरोना जोखिमलाई मध्यनजर गर्दै बढी भिडभाड नगर्न आग्रह गरिएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरुलाई रोक्न नसकिएको प्रहरीहरु बताउँछन् । बग्लेकमा करिब सातवर्ष पछिकै बाक्लो हिमपात यो वर्ष भएको र यातायातका साधनहरु पनि पुग्ने भएकाले अहिले उक्त क्षेत्रमा हिउँ खेल्न तथा रमाइलो गर्न आउनेहरुको सङ्ख्या बढ्दै गएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाका कारण आम नागरिक घर बाहिर निस्किन पाएका थिएनन, त्यसैमा यो वर्ष बाक्लो हिमपात भएकाले पनि बग्लेकमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरु बढेका हुन् ।” बग्लेकबाट सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तड समेत अवलोकन गर्न सकिने भएकाले पनि खप्तडका बिभिन्न रमणिय स्थल तथा हिमालका दृष्य अवलोकन गर्नका लागि पनि अहिले बग्लेकमा आन्तरिक तथा बाह्यि पर्यटकहरु भित्रिन थालेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

खप्तडमा बग्लेक भन्दा बढी हिउँ परेकाले त्यहाँका जनावरहरु अहिले बग्लेक क्षेत्रमा झरेका कारण पनि विभिन्न जङ्गली जनावर देख्न सकिने भएकाले पर्यटकहरु आउन थालेका छन् । अग्लो डाँडामा रहेको बग्लेकमा मैदान जमिन हरियाली ठाउँ भएको र घाडचडीको पनि व्यवस्था भएकाले पहिले देखि नै पर्यटक आउने गरेको तथा अहिले हिमपात भएकाले पनि पर्यटकहरुको सङ्ख्या बढेको भिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो ।