‘द्रुतमार्गको निर्माण तोकिएकै समयमा पूरा हुन्छ’

0
Shares

काठमाडौं ।

काठमाडौं–तराई द्रुततमार्ग निर्धारित समयमा सम्पन्न गर्ने नेपाली सेनाले जनाएको छ । सेनाले बजेट अभाव हुनु नहुने, दैवी विपत्ति आउन नहुने, कानुनी अड्चन सिर्जना हुन नहुने, निर्माण व्यवसायीले सहयोग गर्नुपर्ने र सहायक निर्माताले निर्माण अवधिमै काम सक्नुपर्ने बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले नेपाल समाचारपत्रसँग भएको कुराकानीमा उक्त कुरा उल्लेख गर्नुभएको हो ।

नेपाली सेनाका लागि अवसर र चुनौतीको रूपमा रहेको दु्रतमार्ग २०८१ मंसिर मसान्तसम्ममा निर्माण सम्पन्न हुनुपर्नेछ । ‘आयोजनाको आवश्यकताअनुरूप सरकारले बजेट उपलब्ध गराएमा, कोभिडजस्ता अप्रत्यासित प्रकोप झेल्नु नपरेमा, मुद्दामामिलाजस्ता कानुनी अडचन नरहेमा, ठेकेदार नभागेमा वा ठेकेदारले बढी समय माग नगरेमा दु्रतमार्ग तोकिएकै समयमा पूरा हुन्छ’ –प्रवक्ता सिलवालले भन्नुभयो ।

साढे चार वर्षभित्र आयोजनाको सम्पूर्ण कार्य पूरा गर्ने गरी हरेक कामको समय तालिका तय गरिएको प्रवक्ता सिलवाले बताउनुभयो । खोकना, बुङमती र फर्सीडोल क्षेत्रमा जग्गाप्राप्तिमा समस्या रहेको र अन्य स्थानमा कुनै समस्या नरहेको उहाँले जनाउनुभयो । जग्गा मुआब्जा विवादको समस्या सरकारले सुल्झाउनुपर्ने र त्यसका लागि स्थानीयले सघाउनुपर्ने उहाँको राय थियो । समस्याको चुरो पहिचान गरी समाधानका लागि पत्रकारले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने उहाँको सुझाव थियो ।

कुल १ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २६ अर्ब रुपियाँ खर्च भई १६ दशमलव ९ प्रतिशत कार्य प्रगति हासिल भएको प्रवक्ता सिलवालले जानकारी गराउनुभयो । उहाँका अनुसार चालु वर्षमा २१ दशमलव २० प्रतिशत कार्य प्रगतिको लक्ष्य तय गरिएको छ ।

दु्रतमार्ग निर्माणको सोच आजभन्दा २७ वर्ष पहिले तय भएको थियो । सो सोचअनुसार २०४९ मा डेनिस सहयोग नियोग डेनिडाले सम्भाव्यता अध्ययन गरेको थियो । आर्थिक वर्ष २०६०–६१ को बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले दु्रतमार्ग निर्माणको कुरा उल्लेख गर्नुभएको थियो । २०६४ मा एसियाली विकास बैंकले दु्रतमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरेको थियो । सरकारले सार्वजनिक निजी साझेदारी मोडलमा दु्रतमार्ग निर्माण गर्न २०६४ मा पहिलोपटक, २०६८ मा दोस्रोपटक र २०७० मा तेस्रोपटक आशयपत्रको सूचना जारी गरेकोमा कुनै पनि कम्पनी छनौट भएका थिएनन् ।

२०७४ वैशाखमा मन्त्रिपरिषद्को बैठकले दु्रतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोअनुरूप २०७४ असारमा आयोजना सञ्चालन कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । दु्रतमार्गको कुल लम्बाइ ७२ दशमलव ५ किलोमिटर हुनेछ । सडकको चौडाइ पहाडमा २५ मिटर र तराईमा २७ मिटर हुनेछ । कुल १० दशमलव ५९६ किलोमिटर लम्बाइ रहने ८७ वटा पुलमध्ये १६ वटा पुल विशेष प्रकृतिका हुनेछन् । तीनवटा सुरुङको कुल लम्बाइ ६ दशमलव ४१५ किलोमिटर तय गरिएकोमा महादेव डाँडामा ३ दशमलव ५५ किलोमिटर, धेद्रेमा १ दशमलव ६३ किलोमिटर र लेनडाँडामा १ दशमलव ४३ किलोमिटर लम्बाइका सुरुङ हुनेछन् ।

दु्रतमार्गअन्तर्गत खोकना, बुदुने र निजगढ गरी तीन स्थानमा इन्टरचेन्ज र टलप्लाजा निर्माण गरिनेछ । त्यस्तै, दु्रतमार्गअन्तर्गत १२ वटा प्यासेन्जर अन्डरपास, ५ वटा भेहिकल अन्डरपास, ४ वटा भेहिकल ओभरपास १ सय ४१ वटा पाइप कल्भर्ट र एउटा प्यासेन्जर ओभरपास निर्माण गरिनेछ । दु्रतमार्गको मापदण्ड ‘एसियन हाईवे प्राइमरीक्लासको’ हुनेछ ।

हालसम्म नेपाली सेनाले सडक आयोजनातर्फ १ हजारभन्दा बढी लम्बाइ रहेका ३० वटा सडक आयोजना सम्पन्न गरिसकेको छ । पुल आयोजनातर्फ कुल १ हजार ४ सय लम्बाइ रहेका सिंगल तथा डबल स्पानका ३२ वटा बेलिब्रिज निर्माण गरिसकेको छ । यी अनुभव र नेपाली सेनाले हालसम्म निर्माण गरेको छविलाई हृदयंगम गरी सरकारले द्रुतमार्गको कार्य नेपाली सेनालाई सुम्पने निर्णय गरेको बताइएको छ ।

सबैतिर लाभैलाभ
दु्रतमार्ग राजधानीबाट मधेस पुग्न सकिने सबैभन्दा छोटो मार्ग हुनेछ । हालको तुलनामा यात्रा समय कम्तीमा ७ घण्टा छोटिनेछ । इन्धन खपत र ढुवानी खर्च उल्लेखनीय मात्रामा कटौती हुने बताइएको छ । राजधानी केन्द्रित शहरीकरणको चाप कटौती हुने अपेक्षा पनि राखिएको छ । निजगढमा निर्माण हुन गएको अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयता अभिवृद्धि हुने र मधेस र काठमाडौं बीचको भौगोलिक र भावनात्मक दूरी घट्ने सामाजिक प्रभावको पनि अपेक्षा गरिएको छ ।

कुल १ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको यस आयोजनामा हालसम्म २६ अर्ब रुपियाँ खर्च भइसकेको प्रवक्ता सिलवालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८–७९ मा ८ अर्ब १५ करोड रुपियाँ विनियोजन गरिएकोमा अपुग हुने देखिएकाले थप ८ अर्ब रुपियाँ माग गरिएको उहाँले जानकारी दिनुभयो ।

कुल कार्यलाई ८ प्याकेजमा विभक्त गरी काम भइरहेको, प्याकेज ‘वन’ तथा ‘टु’ अन्तर्गत फिल्डसर्बे, साइट क्याम्प स्थापना, जियोटेक्निकल सर्बे, जियाफिजिकल सर्बे, ड्रइङ एन्ड डिजाइनसम्बन्धी कार्य रहेको जो पूरा भइसकेको उहाँले बताउनुभयो ।

प्याकेज ‘थ्री’ अन्तर्गत कार्तिक २ गते बोपलत्र आह्वान गरी पुस १२ गते आशय पत्र जारी भएको र पुस १९ मा ठेक्का सम्झौताको सूचना पठाइएको छ । प्याकेज ‘फोर’ अन्तर्गत बोलपत्र मूल्याङ्कन भई अवार्डका क्रममा रहेको, प्याकेज ‘फाइभ’ अन्तर्गत बोलपत्र चयनको क्रममा रहेको, त्यस्तै प्याकेज ‘सिक्स’, ‘सेभेन’ र ‘एट’ मा जमिन प्रमाणीकरण भई बोलपत्र कागजात तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको उहाँले जनाउनुभएको छ ।