मन्त्री आलेको निर्देशनमा ‘याक एण्ड यती’को लाइसेन्स रद्द

0
Shares

विमल विष्ट, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजत पत्र रद्द गरिएको छ ।

सरकारलाई बुझाउनु पर्ने रोयल्टी पटक पटक बुझाउन माग गर्दा पनि नबुझाएकाले मन्त्री आलको निर्देशनमा इजाजत पत्र रद्द गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । बुधबार नेपाल सरकार मन्त्रीस्तरिय निर्णयले याक एण्ड यति होटल लिमिटेड, दरबारमार्ग, काठमाडौंको क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको मन्त्री आलेले जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिसं २०४८ पुस २२ गते उक्त होटलको नाममा क्यासिनो सञ्चालनको इजाजत पत्र जारी गरेको थियो ।  नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम कानून बमोजिम होटलले दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएको तथा यस विभागको अभिलेखमा आर्थिक वर्ष २०७६–०७७ सम्मको बाँकी बक्यौता आर्थिक वर्ष २०७७–०७८ को इजाजत पत्र नवीकरण दस्तुर, आव२०७८–०७९ को रोयल्टी दस्तुर समेत गरी रु ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा नबुझाएकाले कानुन अनुसार क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको मन्त्री आलेले बताउनुभयो ।

पर्यटन विभागले यो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उक्त होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिनु पनि पत्राचार गरिएको जनाएको छ ।

त्यस्तै राष्ट्र बैंकलाई उक्त होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिनु समेत अनुरोध गरेको छ । क्यासिनो नियमन गर्ने पर्यटन विभागका अनुसार नेपाल सरकारलाई तिर्न बुझाउन बाकी रहेको सन्दर्भमा विगत वर्षहरूमा पनि पटक पटक पत्राचार तथा सार्वजनिक सूचना मार्फत याक एण्ड यति होटललाई जानकारी गराउँदा समेत नतिरेको आरोप छ ।

बाँकी बक्यौता दाखिला चालु आर्थिक वर्ष ०७८।०७।०७ मा पैँतीस ९३५० दिने र मिति २०७८।०९।२७ मा पन्ध्र ९१५० दिने अवधि तोकी पत्राचार गरिएको थियो । उक्त रकम दाखिला नगरेको देखिएकाले मिति २०७८।१०।१९ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा सात (७) दिनभित्र क्यासिनो सञ्चालन बापतको रोयल्टी लगायतका रकम दाखिला गर्न सूचना प्रकाशन गर्दा पनि तोकिएको अवधिभित्र दाखिला नगरेकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम त्यस होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजत पत्र रद्द गर्ने, होटलको पाँच ९५० तारा स्तरको स्तर वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोकका राख्ने निर्णय गरिएको हो । विभागले बुधबारै उक्त होटललाई होटल तथा क्यासिनो सञ्चालन नगर्नु नगराउनु हुन याक एण्ड यति होटललाई सूचना पठाएको जनाएको छ ।