भुम्लुका १४ विद्यालयमा १,०७० थान स्विटर र ज्याकेट

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

भुम्लु गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालयमा कार्यरत सहायक कर्मचारीहरुका लागि स्विटर र ज्याकेट निःशुल्क उपलब्ध गराइएको छ । हजुरलाई नमस्ते परोपकारी संस्था मार्फत १४ विद्यालयका १ हजार ७० जनालाई ९ लाख ६५ हजार रुपैयाँ बराबरको स्विटर र ज्याकेट उपलब्ध गराइएको हो ।

अभियान लिएर भुम्लु पुग्नु भएका स्थानीय तथा समाजसेवी हजुरलाई नमस्ते परोपकारी संस्थाका संयोजक ताराबहादुर कुँवरले भुम्लुका विद्यालयमा स्विटर, ज्याकेट वितरण गरिएको बताउनु भयो ।

‘स्वास्थ्य शिविर, सडक निर्माण तथा सामाजिक अभियानमा स्थानीय सरकारसँग हातेमालो गर्दै यो पटक विद्यालयमा न्यानो कपडा उपलब्ध गराएको हुँ’–संयोजक कुँवरले भन्नुभयो–‘संस्थाको तर्फबाट व्यक्तिगत खर्चमा भुम्लु गाउँपालिकाका १४ वटा विद्यालयका १ हजार ७० जनालाई स्विटर र ज्याकेट उपलब्ध गराएको छु ।’

भुम्लुका सेतीदेवी मावि रिठ्ठे, सेतीदेवी मावि चौबास, सेतीदेवी मावि काभ्रे, सेतीदेवी आधारभूत विद्यालय सापिङ्ग, जनजागृति प्रावि उर्लेनी, कालीदेवी प्रावि ठाढकोड्का, श्रीदेवी प्रावि कात्तिके, गणेश प्रावि मेलडाँडा, गोल्मादेवी प्रावि भारतिगाउँ, सेतीदेवी प्रावि अर्खौले, दुधुगाउँ प्रावि चौबास, महादेव प्रावि पोखरी चौबास, नवजागृति प्रावि कोढ्का, बालउन्नती प्रावि सिम्थली रहेका छन् ।


अभियानमा कुँवरका छोरा फाल्गुण, छोरी सलिना, देविका थापा र बज्रबहादुर पहरी सहभागी हुनुहुन्थ्यो । सोही अवसरमा विद्यालय तथा स्थानीयहरूलाई चिसोका कारण हातखुट्टा फुट्दा लगाउने क्रिम १३ सय थान निःशुल्क वितरण गरिएको छ ।

सोही संस्था मार्फत यस अघि भुम्लुका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सहित राहत वितरण गरिएको थियो । संस्था मार्फत केही दिनमै ५ सय थान स्विटर निःशुल्क उपलब्ध गराउने संयोजक कुँवरले जानकारी दिनु भयो ।