कमलपोखरीको उद्घाटन छिट्टै गर्छौँ : मेयर शाक्य

९ वटा चैत्यको विधिवत् प्रतिस्थापन

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको काम करिब–करिब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने जानकारी दिनुभएको छ । पुनर्निर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यीकरण योजना अनुरूप ९ वटा चैत्यको आज विधिवत रुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो ।

‘काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रूपमा विकास गरेको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘ ठेकेदारले १५ दिन भित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यो लगत्तै हामी पोखरीको उद्घाटन गर्छौँ ।’ पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिँदै घुमफिर गर्ने उपयुक्त स्थानका रूपमा यो पोखरीलाई विकास हुने उहाँले बताउनुभयो ।

उहाँले पोखरी पूर्ननिमार्णणको काम एक वर्ष अघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण केही ढिलासुस्ती भएको बताउनुभयो । ‘ठेकेदारको पनि कोभिडको कारण देखाएर ढिला–सुस्ती गर्दा काम समयमा सम्पन्न गर्न केही कठिनाइ भयो,’ उहाँले भन्नुभयो, ‘निर्माण कार्यको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यीकरण योजना अनुरूप पोखरीको किनारमा ९ वटा चैत्यको प्राण प्रतिस्थापन गर्ने कार्य आज सम्पन्न भयो । पहिलो चरणको काम ठेकेदारले १५ दिन भित्र सम्पन्न गर्छौ भनेका छन् । हामी पहिलो चरणको काम सम्पन्न हुने बित्तिकै कमलपोखरीको उद्घाटन गर्ने छौँ र दोस्रो चरणको काम सँगसँगै सुरुवात गर्छौँ।’

उहाँले चैत्यसँगै यहाँको सांस्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरिपरि वृक्षारोपण गर्ने तयारी भएको पनि जनकारी दिनुभयो । ‘यहाँका मठ–मन्दिरको संरक्षण गर्दै यो पोखरीमा ठमेल, हनुमान ढोका, स्वयम्भू घुम्न आउने पर्यटकलाई समेत आकर्षित गराउने उद्देश्यका साथ पोखरी पुनर्निर्माणको काम अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो, ‘छिटै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्छौँ ।’

एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रूपमा चिनाउने योजनासहित यो पोखरीको पुनर्निर्माण अघि बढाएको उहाँको भनाई छ । ‘पहिला बेवारिसेर र फोहोर जमेको पोखरीलाई परम्परागत, सांस्कृतिक  र पर्यटकीय रूपमा विकास गर्ने अभियानलाई अघि बढाएका हौँ,’ शाक्यले भन्नुभयो, ‘वर्षौँदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर पुनर्निर्माण गर्दै पुर्नजिवन दिने काम गरेका छौँ ।’ उहाँले कमलपोखरीको पुनर्निर्माणको काम संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरूसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएको  स्मरण गराउनुभयो । उहाँले काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यहि अनुरूप काम अघि बढेको पनि बताउनुभयो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफुलाई आनन्द महसुस भएको भन्दै जति सक्दो छिटो पोखरी उद्घाटनको तयारीमा रहेको जानकारी दिनुभयो । ‘यो ऐतिहासिक कमलपोखरी हो,’ उहाँले भन्नुभयो, ‘यो पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सबैको ठूलो सहयोग प्राप्त भएको छ । मेरो घर कमलपोखरीबाट नजिकै छ । बिहान–बेलुका स्वच्छ हावा लिँदै हरियालीको आनन्द लिनका लागि यो उपयुक्त ठाउँ हुने भयो ।’

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले करिब २३ रोपनी क्षेत्रफलमा पुनर्निर्माण भइरहेको कमलपोखरी सहरी सौन्दर्य अभिवृद्धिका लागि उपयुक्त हुने बताउनुभयो । ‘यो पोखरी वास्तुकलालाई आधार मानेर पुनर्निर्माण भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँको संस्कृति र देशकै प्रतिनिधि मुलुक पर्वको रूपमा मानिँदै आएको छठ पर्वका लागि समेत उपयुक्त हुने गरी यो पोखरी पुनर्निर्माण गरेका हौँ ।’ उहाँले छठ बाहेक पनि हरियालीको मनोरञ्जन दिँदै घुमिफिर गर्न र आकर्षक सहरी सौन्दर्यका रूपमा यो पोखरी उपयुक्त हुनेमा आशावादी रहेको बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेते कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुल ढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिनुभयो ।

करिब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको पनि पनि बस्नेतले जानकारी दिनुभयो । उहाँले परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुनर्निर्माण गरेको पनि जानकारी दिनुभयो । ‘पोखरी छिर्ने गेटलाई नेपाली स्वरूप दिइएको छ,’ बस्नेतले भन्नुभयो, ‘पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ । त्यसै गरी  विभिन्न ठाउँमा चैत्य र पाँच ओटा मकरधार रहने छन् ।’ उहाँले पोखरी पुनर्निर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिएको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापाले काठमाडौँ महानगरपालिका रहेको यो पोखरी हेर्न, बस्न र केही समय मनोरञ्जनसहित व्यथित गर्न लायक हुने ढाँचासहित पुनर्निर्माण गरिरहेको जानकारी दिनुभयो । ‘सबै भन्दा ठूलो कुरा त पोखरीलाई पुर्नजिवित गर्ने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘हिलो, ढल र घाँसले भरियो यो पोखरी अहिले अनुपम सौदर्यले भरिपूर्ण देखिएको छ र पोखरीले आफ्नो स्वरूप प्राप्त गरेको छ ।’ उहाँले काठमाडौँको मौलिक संस्कृतिलाई प्राथमिकतामा राखेर घाट निर्माण गर्ने जस्ता कार्य गरेको पनि जानकारी दिनुभयो । उहाँले छठमैत्री पोखरीका रूपमा समेत विकास गरेको जानकारी दिनुभयो ।