रुढीगाउँमा चरम खाद्य संकट, कुपोषक पनि उत्तिकै

0
Shares

बाजुरा ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ रुढीगाउँमा चरम खाद्य संकट सँगै बालबालिका र सुनौला हजार दिनका आमामा कुपोषण देखिएको छ । गाउँमा आठ वर्षदेखि चरम खाद्य संकटको चपेटामा परेपछि गाउँमा कुपोषण दर बढेको हो ।

गाउँमा रहेका अधिकांश बालबालिका, गर्भवती, सुत्केरीमा कुपोषण रहेको शिक्षक धनबहादुर धामीले बताउनुभयो । रुढीगाउँमा रहेका १ सय ५६ परिवार बाह्रै महिनामा चरम खाद्य संकटको मारमा रहेका छन् । चरम खाद्य संकटसँगै महिला तथा बच्चामा रक्तअल्पता र कुपोषण देखिन थालेको छ । ‘बालबच्चाले पनि पर्याप्त खानेकुरा खान पाएका छैनन् । खाना पनि नुनसँग खाने गरेका छौं’, अर्चना कार्की भन्नुहुन्छ– ‘कति दिन त भोकभोकै बसेका छौं ।’ पहिले जस्तो काम पनि गर्न नसकेको उहाँको कथन छ ।

हरियो सागपात, गेडागुडी फलफूललगायतका पौष्टिक तत्व भउका खानेकुराको अभावले गाउँले कुपोषित रहेको स्वयसेविका बिना भुल बताउनुहुन्छ । पेटभर खान नपाएकाले बच्चा पाउने महिलासमेत कुपोषित रहेका छन् । यस्तो अवस्थामा प्रशस्त मात्रामा पौष्टिक खानेकुरा नखाँदा बच्चा पाउने बेला उनिहरुलाई समस्या हुने गरेको उहाँको भनाइ छ ।
लगातारको खडेरी र गाउँमा रहेको रुढी सिँचाइ कुलो सुख्खा पहिरोले बगाएपछि खेती योग्य जमिन ८ वर्षदेखि बाँझै रहेको वीरबहादुर कार्की बताउनुहुन्छ । जग्गा भए पनि उब्जनी नभएकाले भोकमरी बढेको उहाँको कथन छ ।

गाउँमा खानेपानीसमेत नहुँदा २ किलोमिटर टाढाबाट खोलाको पानि ल्याएर खानुपर्ने बाध्यता छ । बाह्रै महिना किनेर खानुपर्ने अवस्था रहेकाले पुरुष जति भारतमा नोकरी गर्न जाने प्रचलन छ । भारतबाट काम गरेर पठाएको पैसाले महिलाले घर चलाउने गरेका छन् । गाउँमा खान नपुग्ने भएपछि १३ परिवारले गाउँ नै छाडिसकेको दिलबहादुर धामी बताउनुहुन्छ ।
२ करोडभन्दा बढी लगानीमा सिँचाइ कुलो निर्माण भएको केही वर्षमै सुख्खा पहिरोले बगाएको थियो । पटक–पटक मर्मत गरे पनि पहिरोका कारण सिँचाइ कुलो सञ्चालनमा आउन नसकेको उहाँ भनाइ छ । पहिरोले खेतीयोग्य धेरै जमिनमा क्षति पुर्याएको छ । सिँचाइ हुँदा रुढीगाँउमा खेतीयोग्य जमिनका रूपमा चिनिने गरेको थियो ।

‘सुख्खा पहिरोको समस्याले गाउँ नै जोखिम रहेको छ’, जानकी तिरुवा भन्नुहुन्छ– ‘अर्कोतिर लामो समयदेखि खडेरी परेको छ । अन्न लगाउन पाएका छैनौं, भारतबाट पठाएको धनले कतिन्जेल धान्ने ? पेटभर खान नपाँदा हातखुटा काम्ने, चक्कर आउने जस्ता समस्या देखा पर्न थालेको उहाँको कथन छ । रुढीगाउँ माथिबाट सुख्खा पहिरो बगिरहेको छ । २०६९ सालमा सुख्खा पहिरोले तीन जनाको मृत्युसमेत भएको थियो भने १० परिवार पूर्णरूपमा विस्थापित भएका थिए । २०७२ सालको कात्तिकमा पनि सुख्खा पहिरोले २३ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।