मोडर्ना खोप लगाउन विद्यार्थीको हानथाप

0
Shares

मुगु ।

मुगुका सामुदायिक विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन थालिएको छ। खोपको पहिलो मात्रा लगाएका र दोस्रो डोज लगाउन आउने विद्यार्थीले खोप सकिने भन्दै हानथाप गरी खोप लगाएका छन् ।

विद्यार्थीमा एकातिर खोप लगाए कोरोनाबाट जोगिने र अर्कोतर्फ पढाइ शुरु हुने अशाले पनि तँछाडमछाड गरेर खाप लगाउन आएको स्थानीय शिक्षक डिलेन्द्र मल्ल बताउनुहुन्छ । गमगढीस्थित महाकाली माध्यमिक विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउन बालबालिकाको लामो लाइन देखिएको थियो।

विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउन बालबालिका उत्साहित देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन दीपबहादुर रावलले बताउनुभयो। मुगुमा दोस्रो मात्राको करिब ८ हजार डोज मोडर्ना खोप आइपुगेको उहाँको कथन छ । अहिलेसम्म झन्डै ६ हजार बालबालिकाले खोपको दोस्रो मात्रा लगाइसकेका छन् । खोप लगाउन स्वास्थ्यकर्मी र स्थानीय महिला स्वयंसेविकालाई तालिम दिई सबै सामुदायिक विद्यालयमा खटाइएको छ । ‘पहिलोपटक खोप लगाउँदा हिचकिचाउने बालबालिकाले अहिले दोस्रो डोज लगाउन झगडा नै गर्ने गरेका छन् ।’ –रावल भन्नुभयो ।

विद्यालय बन्द भए पनि शुक्रबार विद्यालयमा गएर खोप लगाएको गमगढीस्थित महाकाली माध्यमिक विद्यालयकी छात्रा संगीता शाहीले बताउनुभयो। ‘खोप लगाएपछि अब त कोरोना लागे पनि ढुक्क छ’, उहाँ भन्नुहुन्छ– ‘खोप नलगाउँदा संक्रमण हुन्छ कि भन्ने डर थियो, अब त कोरोना भए पनि खासै जोखिम हुँदैन।’ उनीसँगै कक्षा १० मा पढ्ने कमल बमले पनि विद्यालयमा गएर खोप लगाएको बताए। ‘सबैलाई खोप लगाएपछि अब त विद्यालय खुल्छ कि भन्ने आशा छ’, उहाँको कथन छ– ‘विद्यालय खुले एक÷दुई महिनामै सबै कोर्स पनि सकिन्थ्यो।’

छायाँनाथरारा नगरपालिकासहित सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकामा खोप अभियानलाई तीव्रता दिइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। घर–घरमा महिला स्वास्थ्य स्वयंसेविका खटाएर बालबालिकालाई खोप लगाउन आग्रह गरिएको स्वास्थ्य सेवा अधिकृत उमेश गौतमले बताउनुभयो। जिल्लालाई एक महिनाभित्र कोरोनाविरुद्धको खोपयुक्त घोषणा गर्ने तयारी थालिएको उहाँको भनाइ छ। ‘अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई पनि बुस्टर डोज लगाइरहेका छौं’, गौतम भन्नुहुन्छ– ‘गाउँ–गाउँमा खोपसम्बन्धी सचेतनामूलक अभियान पनि सञ्चालन भइरहेको छ।’

जिल्लामा अहिलेसम्म ८७ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका छन् । ५२ प्रतिशतलाई दोस्रो मात्रा पनि दिइएको छ।