अंग्रेजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार



  • जगदीश रेग्मी

नेपाल भूमण्डलीकृत विश्वका शक्तिराष्ट्रहरुको भाषिक, सांस्कृतिक, धार्मिक, राजनीतिक साम्राज्यको चक्रब्यूहमा फँसिसकेको छ । क्रिश्चियानिटीको प्रभाव बढ्दो गतिमा विस्तार भैरहेछ । जातीय, भौगोलिक आदि सबै क्षेत्रमा विभाजन ल्याएको छ । यसको अर्थ यो मुलुकलाई कमजोर बनाउनेतर्फ चलखेल बढिरहेको छ । यी सबै षड्यन्त्रकारी गतिविधिहरु सर्तात्मक र अवाञ्छित आर्थिक सहयोगका निहुँमा भैरहेका छन् । यस्तो घृणित खेलबाट हाम्रो राष्ट्रिय अस्मिता नै धरापमा पर्दै गएको छ । यो सबै हाम्रो परनिर्भरतामा बाँच्ने बानी र संस्कृतिको परिणाम हो । यसको प्रतिरोधको एकमात्र उपाय हरेक नागरिकहरूलाई राष्ट्र र राष्ट्रियताप्रति प्रेमभाव दर्शाउन प्रेरित गर्नु हो ।

खस जातिहरुले मूल रुपमा हिन्दू धर्म अपनाए तापनि यिनीहरुको संस्कृतिमा अन्य जाति, समुदाय, सम्प्रदाय र धर्महरूप्रति अगाध स्नेह एवम् श्रद्धा रहेको छ । यही खस–आर्यहरूको संस्कृति र परम्परालाई स्वीकार गरी नेपालका सबै जातजातिबीच धार्मिक, सांस्कृतिक एवम् सामाजिक सद्भाव र सहिष्णुताको जग बसेको छ र त्यो हालका दिनसम्म पनि प्रगाढ रहिआएको छ । यही जग हल्लियोस् भनी अंग्रेजहरुले सदियौंदेखि नेपाली जनमा कायम रहेको सामाजिक सद्भाव र सहिष्णुता बिथोल्न प्रयत्न गरिरहेका छन् । जातजातिबीच रिस, घृणा र द्वेष फैलिई सामाजिक विभाजन ल्याओेस् भन्ने मनसाय राखेर जनजाति र तिनका संस्थाहरुको हित र प्रवद्र्धनका लागि नेपालस्थित उनका एजेन्ट र आईएनजीओहरूमार्फत षड्यन्त्रकारी सहयोग गरिरहेका छन् । यस्तो सहयोगले हाम्रो राष्ट्रमा राष्ट्रिय एकता होइन, जातीय एवम् भौगोलिक विखण्डन ल्याई जातजातिबीच सद्भाव बिथोल्ने र घृणा मात्रै फैलाउने काम गरेको छ । नेपालका आदिवासी जनजाति अगुवाहरु उनीहरुकै इशारा र उक्साहटमा परी उनीहरुकै एजेन्डा बोकेर हिँडेको पाइन्छ । तैपनि राज्य त्यस दाउपेचप्रति मुकदर्शक बन्नुसिबाय अरु केही गर्न नसकेको अवस्थामा छ ।

धर्म, संस्कृति र भाषाको प्रचार गर्ने उद्देश्यले इसाई पादरी र धर्मभिरुहरू मल्लकालदेखि नै नेपाल प्रवेश गरेको इतिहास छ । धर्म, संस्कृति र भाषामाथि आक्रमण गरी राज्यलाई कमजोर बनाएमा रणनीतिक स्वार्थसिद्ध गर्न सकिन्छ भन्ने उनीहरूको सोच थियो । अग्रजहरूको यस्तो चालबाजी बुझेर नै त्यस समयमा नेपाल छिरेका इसाई पादरीहरूलाई पृथ्वीनारायण शाहले देश निकाला गरेका थिए । अंग्रेजहरूको मिसन असफल भएपछि उनीहरूले पृथ्वीनारायण शाहविरुद्ध नेपाल एकीकरणको दौरानमा जनजातिलाई युद्धमा होमेको, थिचोमिचो गरेको, आततायी यातना दिएको, कीर्तिपुरवासीको नाक काटेको जस्ता अतिरञ्जित र अनर्गल प्रकारका लाञ्छना लगाए । तिनै संगीन लाञ्छनाको इतिहास पढाएर उनैका इशारामा अहिले पहिचानवादी भनिने डलरवादी जनजातिका अगुवाहरू सदियौंदेखि अक्षुण्ण रुपमा कायम रहेको नेपालीजनबीचको परस्परको सामाजिक सद्भाव, सहिष्णुता एवम् भाइचारा सम्बन्ध बिथोली साम्प्रदायिक हिंसा एवम् घृणा फैलाउनमा प्रयोग गरिएका छन् । राज्य सरकार त्यस दाउपेचप्रति मुकदर्शक बन्नुसिबाय अरु केही गर्न नसकेको अवस्थामा छ ।

पृथ्वीनारायण शाहप्रति प्रतिरोधस्वरूप उनको भनाइलाई गलत अर्थ लगाई अंग्रेजले नेपालीजनबीच फाटो ल्याउने काम गरे । मानवशास्त्री डेभिड एन गेल्नरजस्ता अंग्रेजले जनजातिहरूलाई राष्ट्रको अवधारणामा ठाउँ नै नदिएको, सांस्कृतिक बहुलता स्वीकार नगरेको जस्ता संगीन आरोपहरू लगाएर जातजातिबीच विभाजन ल्याउने काम गरे । जसबाट नेपाली समाजमा विभिन्न सम्प्रदाय, समुदाय र जातजातिबीच आपसमा असमान व्यवहार गरिएको र बहिष्करणमा पारिएको भन्ने गलत बुझाइ भयो । यही गलत बुझाइको आधारमा प्रजातन्त्र स्थापनापछि नेपालमा जनजाति आन्दोलन भएको थियो । माओवादीको सशस्त्र हिंसाले त जातीयताको मुद्दालाई झनै उग्ररूप दियो । जातीय राज्यको सिद्धान्तका आधारमा जातीय संघर्षको स्वरूप देखा प¥यो र त्यसले नेपाली समाजमा जातजातिबीच नै वैरभाव सिर्जना गरायो ।

नेपालमा सनातनदेखि चलिआएको हिन्दू धर्म र संस्कृतिको आक्रमणमा अंग्रेजहरुको लगानी र प्रयास धेरै वर्षअघिदेखि रहिआएको छ ।

हिन्दु धर्मका अनुयायीहरुले अपनाउँदै आएको मौलिक भाषा, धर्म, संस्कृति र समृद्ध सभ्यतालाई तहसनहस पारी आफ्नो संस्कृति र सभ्यता लाद्ने रणनीतिअन्तर्गत अंग्रेजहरुले ‘बेबी सावर’, ‘बर्थ डे’, ‘मेरिज एनिभर्सरी’, ‘भ्यालेन्टाइन डे’, ‘क्रिस्मस डे’ जस्ता उत्सवहरु जबर्जस्ती भित्र्याएका छन् । यसको प्रवद्र्धनका लागि ठाउँ–ठाउँमा क्रिश्चियन धर्म–संस्कृति प्रचार गर्ने संस्थाहरु स्थापना गरेका छन् । अंग्रेजहरूलाई अंग्रेजी शिक्षा दिन स्थापित स्कुल, कलेज आदिलाई चर्चमा रुपान्तरण र बौद्ध धर्मावलम्बीहरुको धार्मिक आस्थाका केन्द्रहरु बौद्ध, चैत्य, गुम्बाहरुलाई चर्चमा परिणत गराइरहेका छन् । यसबाट हाम्रा मौलिक संस्कृति र सभ्यताहरु लोप हुँदै गएका छन् । यस्तो निन्दनीय कार्य र व्यवहार हिन्दू धर्म र सभ्यतामाथिको ठाडै हस्तक्षेप हो । तर वर्तमान लोकतान्त्रिक सरकार यसका विरुद्ध कुनै कदम चाल्दैन, बरु क्रिस्मस दिवसमा सरकारी बिदा दिएर उल्टै पश्चिमा संस्कृतिको वृद्धिमा जोड दिएको छ । धर्म र संस्कृतिमाथिको यो आक्रामक व्यवहारप्रति निरीहता जनाउनुसिबाय अरु केही गर्न सकिएको छैन ।

अंग्रेजहरूको व्यापार विस्तार तथा औपनिवेशिक नीतिलाई लागू हुन नदिन पृथ्वीनारायण शाहले नेपालभित्र प्रवेश नै गर्न नदिने र छिरिहालेमा देश निकाला गर्ने रणनीति अपनाए । हालको भारतमा १९० वर्ष शासन गरेको ब्रिटिस इन्डिया कम्पनी सरकारले दक्षिण एसियाभर व्यापारिक तथा प्रशासनिक साम्राज्य फैलाइरहेको थियो । सोही समयमा पृथ्वीनारायण शाहले विदेशीलाई (दक्षिणको) व्यापार गर्न देशभित्र छिर्न नदिनू, देशको पैसा बाहिर लैजान्छन् भनेका थिए । तर मुलुक अहिले वैदेशिक सहयोग र लगानीविना विकास नै गर्न नसक्ने अवस्थामा पुगेको छ । यस्तो लगानी ठूल्ठूला विकास आयोजना र पूर्वाधार विकासमा उपयोग गर्न सके देशको समृद्धि र विकास हुने थियो । विडम्बना, सामाजिक सुरक्षा र सामाजिक विकासका क्रियाकलापहरूमै अधिकांश हिस्सा उपयोग भएको छ । वैदेशिक लगानी निरन्तररुपमा दीर्घकालसम्म प्रयोगले देशका लागि घातक परिणाम निम्त्याउँछ । यसले लगानी गर्ने व्यक्ति र राष्ट्रको प्रभुत्व र वर्चश्व कायम गराई मुलुक आर्थिक औपनिवेशीकरणको चपेटामा पर्छ ।

यसरी इतिहासमा हुँदै नभएको झुठो कुराको प्रचार गरेर अंग्रेजले आदिवासी जनजाति र मधेसी समुदायमाझ घृणा फैलाई खस–आर्य समुदायविरूद्ध भिड्नका निम्ति उचाल्यो । जसले गर्दा हामीकहाँ साम्प्रदायिक सद्भाव बिथोल्ने एवं राज्य विखण्डन गर्ने गतिविधिहरु बढिरहेका छन् । आर्थिक प्रलोभनमा परेका जनजातिका अगुवा भनाउँदा तिनका अनुयायी एवम् नेपालस्थित एजेन्टहरूले त्यस कुत्सित रणनीति सिद्ध गर्नका लागि साथ र सहयोग गरे । आर्थिक सहयोग पाएका केही एनजीओ र मिडियाहरूमार्फत पृथ्वीनारायण शाहले जनजातिलाई एकल धर्म, संस्कृति, भेष एवम् भाषा अपनाउन दबाब दिएको, शोषण एवम् थिचोमिचो गरेको जस्ता अफवाहहरू दुर्गम क्षेत्रका गाउँबस्ती एवम् मधेस क्षेत्रमा फैलाइयो । यसरी अंग्रेजहरूको स्वार्थमा नेपाली जनताको स्वर्णिम घर (देश) जलाइयो । हाम्रा आदिवासी जनजाति एवम् मधेसी समुदायहरूलाई यस कुराको पत्तै भएन ।

हामीकहाँ केही समयअघि युरोपेली संघसम्बद्ध केही राजदूतहरुले मधेसलाई अलग राज्य बनाउनुपर्छ भन्दै पृथकतावादी आन्दोलनको अगुवाइ गरिरहेको राष्ट्रद्रोहीलाई भेटेको समाचारले व्यापकता पायो । त्यस समाचारप्रति उनीहरूले आफैँ वक्तव्य निकालेर अभिव्यक्ति स्वतन्त्रताको बहानामा भेट गरेको जानकारी दिनु कहाँसम्मको लज्जास्पद एवम् हेपाइ व्यवहार हो ? सहजै अनुमान लगाउन सकिन्छ । त्यस्तै, नेपालमा धर्म परिवर्तन गर्न पाउने संवैधानिक व्यवस्था नै गरिनुपर्छ भनेर बेलायती राजदूत स्पार्कले धर्म परिवर्तनको विषयमा वकालत गरेका थिए । यो वकालत सार्वभौम मुलुकमाथि गरिएको नांगो हस्तक्षेप हो । विदेशी कूटनीतिज्ञका यी र यस्ता खाले व्यवहारले सार्वभौम मुलुकमाथि सोझै हस्तक्षेप गरेको र पञ्चशीलका सिद्धान्त एवम् संयुक्त राष्ट्रसंघको उद्देश्य विपरीत कूटनीतिक मर्यादा उल्लंघन गरेको ठहर्छ । यस्ता व्यवहारलाई नेपालको राष्ट्रियता कमजोर बनाउँदै लगेको बलियो प्रमाणको रुपमा लिन सकिन्छ ।

विदेशीलाई आफ्नो देशमा पस्न दिँदा देशको स्वायत्तता खल्बलिन्छ भन्ने विचार लिएर राणाहरुले राणाकालीन समयमा सकेसम्म अंग्रेजहरूलाई नेपालभित्र पस्न दिएनन् । हुन पनि यथार्थमा अहिलेसम्मको वैदेशिक सहायताले नेपाली समाजमा सद्भाव बिथोल्न, हिंसा मच्चाउन, घृणा फैलाउनबाहेक अन्य उपलब्धि हासिल गराएको देखिएन । बरू गरिबी र अज्ञानताको चक्रब्यूहमा फसेका गरिब, दलित, सीमान्तकृत, अल्पसंख्यक आदि समुदायमा इसाई धर्मको प्रचारप्रसार गरी क्रिश्चियानिटीको प्रभाव विस्तार गरेको देखायो । नेपाललाई आर्थिक सहयोग गर्ने पहिलो विदेशी राष्ट्र अमेरिका हो । तर सहयोगका बहानामा नेपाल अंग्रेजकै निहितार्थ उपयोग हुनु राष्ट्र र राष्ट्रियतामाथिको आघात हो । त्यस्तै हाम्रो राष्ट्रको हित र स्वार्थ विपरीतको चालबाजी हो । यस्तो चालबाजीलाई हामी सबै मिली परास्त गर्नुपर्छ ।

पृथ्वीनारायण शाहप्रतिको रिसइबी साँध्नकै लागि तथा खस–आर्य जातिहरूबाट आफ्नो राज्य, धर्म, संस्कृति आदि विस्तार हुन असम्भव देखेर अंग्रेजहरूले सहयोगका नाममा नेपालप्रति अतिशयोक्तिपूर्ण व्यवहार गरिरहेका छन् । भनिन्छ, यहाँ संविधान निर्माण, राज्य व्यवस्था परिवर्तन, आन्तरिक सुरक्षा प्रबन्ध आदिमा समेत शक्तिराष्ट्रको अवाञ्छित दबाब र प्रभाव रहेको थियो । यस्तो हर्कतले विद्यमान सार्वभौम मुलुकको खिल्ली उडाइरहेको छ । अर्कोतिर, शक्तिराष्ट्रका रणनीतिक स्वार्थहरू पूरा हुँदै गएका छन्, नेपालको अस्मिता गिर्दै गएको छ । नेपाल र नेपालीलाई शक्तिराष्ट्रहरुले हेर्ने दृष्टिकोण लज्जाजनक छ । यसले हाम्रो शिर झुकाएको छ । सरकार यस मामिलामा त्यति संवेदनशील देखिएको छैन । यसले नागरिकमा सरकारप्रति अविश्वास र शक्तिराष्ट्रप्रति घृणाभाव सिर्जना गराएको छ । र, प्रकारान्तरले राष्ट्रिय भावनामा चोट पु¥याएको छ । अंग्रेजहरूको यिनै कुटिल चालविरुद्ध नागरिकस्तरमा चेतना सिर्जना, जागृति र प्रतिरोधको अभ्यास गराउनुपर्छ । जनतालाई गुमराहमा पारी विदेशी शक्तिकेन्द्रहरुको इशारा र आदेशमा चल्ने अधिकारकर्मीहरुले पनि आफूलाई सच्चा राष्ट्रवादी, आदिवासी जनजाति र दलित अधिकारका हिमायती हुँ भन्नु आवाजविहीन सीधासादा जनताको भरोसा र विश्वासमाथि खेलबाड गर्नु हो । यस्तो प्रवृत्ति तुरुन्त अन्त्य गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्