अन्तिम मतदाता नामावली तयार पार्दै निर्वाचन आयोग

0
Shares

काठमाडौं, (नेस) ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गराउन मंगलबारदेखि तयारी अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन गराउने घोषणासँगै आयोगले तयारी अघि बढाएको हो । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न–गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

सामान्यतयाः निर्वाचनको तयारी गराउन आयोगलाई १ सय २० दिन चाहिन्छ । तर, निर्वाचन आउन ९४ औं दिन बाँकी रहेकोले निर्वाचनसम्बन्धी व्यवस्थापकीय, प्राविधिक र व्यावहारिक काम तीव्र गतिमा गर्नुपर्ने अवस्था रहेको आयोगले जनाएको छ । आयोगका निर्वाचनको तयारीको लागि यसबिचमा ५३ वटा क्रियाकलाप गर्नुपर्ने हुन्छ ।
२०७४ सालमा वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो भने अहिले एकैचरणमा गर्नुपर्ने स्थितिले पनि कामको चाप बढ्ने आयुक्तहरू बताउँछन् ।

निर्वाचनको मिति घोषणासँगै आयोगले फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम स्थगित गरेको छ । आयोगले निर्वाचनको मिति घोषणा गरेको दिन आइतबारसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने प्रवक्ता पौडेलले बताउनुभयो । आयोगले गत वर्ष पुस ५ गते प्रतिनिधिसभा निर्वाचनको निर्वाचन मिति तोकिएपछि त्यसयताको मतदाता नामावली अद्यावधिक गरेको थियो । त्यसअनुसार अहिले १ करोड ५४ लाख ८२ हजार मतदाता छन् । अहिले यसबिचमा झन्डै १४ लाखको हाराहारीमा नयाँ मतदाता संख्या दर्ता भएको छ । निर्वाचनमा एक करोड ८० लाखको हाराहारीमा मतदाता पुग्ने पनि आयोगले अनुमान गरेको छ ।

त्यसै गरी आयोगले कुन दिन के गर्ने भनी निर्वाचन कार्यतालिका लागि गृहकार्यका अतिरिक्त निर्वाचनका लागि आवश्यक निर्देशिका र कार्यविधि तयार गर्नेछ । साथै निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट तर्जुमा गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गर्नेछ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोग १२ अर्ब तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागले २९ अर्ब माग गरेको छ । चालू आर्थिक वर्षमा सरकारले बजेटमा निर्वाचन शीर्षकमा १० अर्ब मात्रै विनियोजन गरेको छ । बाँकी रकम अर्थ मन्त्रालयले विविध शीर्षकबाट जुटाउने मन्त्रालयले जनाएको छ ।

त्यसपछि राजनीतिक दलहरूको दर्ता, व्यवस्थापन, आएका निवेदनलाई अद्यावधिक गरेर टुंगो लगाउने जस्ता काम पनि आयोगले जनाएको छ । राजनीतिक दल दर्ताको समय सकिएपछि निर्वाचन कार्यतालिका प्रकाशित गरिनेछ । उम्मेदवारको मनोनयन, दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायत सबै कार्यहरू निर्वाचन कार्यतालिकामा आउनेछ । त्यसपछि आचारसंहिताको प्रक्रिया प्रारम्भ हुने आयोगले जनाएको छ ।

यससँगै मतदान केन्द्रहरूको व्यवस्थापन मत्रपत्रको छपाइ, सामान खरिदसम्बन्धी टेन्डर एवं सम्भाव्य स्रोतका लागि दाताहरूसँगको छलफललाई पनि अघि बढाउनुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।